आज पुस २७ गते, राजा पुथ्वीनारायण शाहको जन्मदिन । आज ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हो । साना–साना राज्यहरुलाई एकीकरण गरेर एकताको सूत्रमा बाँधेका कारण यस दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिएको हो । विसं २००४ सालदेखि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन थालिएको थियो । तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले बाइसी, चौबीसी र अन्य थुप्रै राज्यहरुलाई एकीकरण गरी नेपाललाई विशाल देश बनाउन विशेष योगदान दिएका कारण पृथ्वीनारायण शाहलाई नेपालको राष्ट्र निर्माताको रुपमा मान्ने गरिएको छ । पछिल्ला वर्षहरुमा पनि नेपालभर सार्वजनिक बिदा दिएर सरकारले नै एकता दिवसलाई मान्यता दिए पनि यो दिवसलाई सबैले स्वीकार गरेको अवस्था भने छैन । २०६२/०६३ को परिवर्तन अघिसम्म सरकारकै तर्फबाट विविध कार्यक्रम गरी पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने गरिएको थियो । त्यसपछिका केही वर्षहरु यो दिवस मनाउन पनि छाडिएको थियो ।
राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणासँगै राजाको जन्मदिनको सन्दर्भमा मनाइएको एकता दिवस मनाइएन । संघीयताको माग भइरहेको त्यस समयमा साना–साना अलग राज्यहरुलाई केन्द्रीकृत गरेर एउटै राज्य नेपाल बनाएका कारण पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता स्वीकार नगर्ने जमात पनि थुप्रै देखिएको थियो । पृथ्वीनारायण शाहले आफू शक्तिशाली बन्नका लागि अन्य राज्यहरुलाई एकीकरण गरेको र स्वतन्त्र अस्तित्वका राज्यहरुको विलय गराएको आरोप पनि लाग्ने गरेको छ । ‘नेपाललाई चार वर्ण र छत्तीस जातको साझा फूलबारी’ मानेका पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताका सूत्रधार मान्न कञ्ज्युस्याइँ गर्नुपर्ने अवस्था छैन । अहिले पनि नेपालमा १४२ जाति, १२४ मातृभाषा र १० वटा धर्म मान्ने मानिस बसोबास गर्ने गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक छ । विविध जाति, भाषा र धर्मको साझा फूलबारीको रुपमा नेपाललाई शताब्दीयौंदेखि पारस्परिक सद्भावका साथ एकतासूत्रमा राख्न पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानको सान्दर्भिकताका बारेमा बहस हुनु आवश्यक छ ।
विश्वका विभिन्न देशहरुले स्वतन्त्रता दिवस वा राष्ट्रिय दिवसलाई निकै महत्व दिएर मनाउने गर्दछन् । तर, नेपालमा यस्तो राष्ट्रिय दिवस छैन । हुन त नेपालमा लोकतन्त्र दिवस (बैशाख ११), गणतन्त्र दिवस (जेठ १५) संविधान दिवस (असोज ३), शहीद दिवस (माघ १६), प्रजातन्त्र दिवस (फागुन ७) मा मनाइन्छ । केही वर्षदेखि संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा समेत मनाउने सरकारले निर्णय गरेको थियो । यति धेरै दिवस हुँदा पनि विवादरहित र सर्वस्वीकार्य एउटा राष्ट्रिय दिवस नहुनुले नेपालमा रहेका नेपालीलाई राष्ट्रियताप्रति जागरुक बनाउन सकिएको छैन । विभिन्न राजनीतिक परिवर्तन, आन्दोलन र शासन व्यवस्था स्थापनाको सन्दर्भमा सरकारले नै यति धेरै दिवसको मान्यता दिएको अवस्थामा पुस २७ को एकता दिवस ओझेलमा परेको हुनसक्छ ।
नेपाल कहिल्यै पराधीन नभएका कारण स्वतन्त्रता दिवस मनाउने कुरै भएन । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकाको तीन मल्ल राज्यहरु विजय गरेर सुरु गरेको नेपाल एकीकरण अभियानकै कारण आज हामी नेपाल र नेपाली भनेर गर्व गर्नसक्ने अवस्था बनेको तथ्यलाई स्वीकार गर्नैपर्छ । देशमा शासन व्यवस्था परिवर्तन हुँदैमा इतिहास फेर्न मिल्दैन । नेपालीमा राष्ट्रियताको भावना जागृत गराउनका लागि कुनै एउटा राष्ट्रिय दिवस आवश्यक छ । एकता दिवसको सान्दर्भिकता स्वीकार गर्दै पृथ्वी जयन्तीलाई नै राष्ट्रिय एकता दिवसको रुपमा मनाउने कि नमनाउने भन्ने बारेमा बहस हुनु आवश्यक छ । सकेसम्म सबै नेपालीको अपनत्व रहने कुनै एक दिनलाई एकता वा राष्ट्रिय दिवस मनाउनुपर्छ, जसले राष्ट्रप्रति सम्मान बढाउन सकोस् ।
