हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै घटनामा २ जना महिलाको मृत्यु भएको छ । प्रदेशको काभ्रे र धादिङ जिल्लामा शुक्रबार २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–४ पोखरीमा आगोले पोलेर एक वृद्ध महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया विष्णु कुमारी विश्वकर्मा रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो ४ बजेको समयमा विश्वकर्मा आफ्नै घरमा आगो ताप्ने क्रममा लगाएको कपडामा अचानक आगो सल्किँदा पोलेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि किर्तिपुर वन अस्पताल लगिएकोमा आईसीयू खाली नभएकाले उनलाई इन्टरनेशनल अस्पताल, भक्तपुर लगिएको थियो । उपचारका क्रममा शुक्रबार बिहान २ बजेर १९ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
धादिङको गजुरी गाउँपालिका–६ राम्चे बगैनीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया सानुमाया सुवेदी रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो १२ बजेर ५० मिनेटको समयमा आफ्नै बारीको डिलमा रहेको टाँकीको रुखमा चढी घाँस काट्ने क्रममा चिप्लिएर खोल्सामा खस्दा घटना स्थलमा नै सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
