Home मुख्य समाचार मणिराज गौतमको ‘प्रवासका फूलहरु पढिसकेपछि’

मणिराज गौतमको ‘प्रवासका फूलहरु पढिसकेपछि’

१. बिदेशमा जाने नेपालीहरुको आआफ्नै कथा र व्यथाहरु छन् । कवि साहित्यकारहरुले बिदेशिएकाहरुको बारेमा धेरै लेखेका छन् । खासगरी बिदेशिनुमा प्रमुख दुई कारणहरु भेटिन्छन् । पहिलो रहरले र दोश्रोमा करले नै बिदेशिएका पाईन्छन् । रहरले घुमफिर गर्न जानेहरुलाई पर्यटक नै भनिन्छ र उनीहरु शहर डुल्ने, त्यहाँको विकास र इतिहास बुझ्ने, प्राकृतिक सौन्दर्यको अवलोकन गर्ने अनि विभिन्न भूगोलका मान्छेहरुको जीवनशैली नजिकबाट हेर्नेहरु हुन् । यी पर्यटक अर्थात रहरले बिदेश घुम्नेहरु केहि अध्ययन, कतिपय मनोरन्जन, कोही रकमको उपयोग अनि कुनै व्यापार आदिसँग जोडिएका हुन्छन् । बिदेशमा पेशा, व्यवसाय तथा अध्ययन गर्न जानेहरु पनि रहर अन्तर्गत नै पर्दछन् । दोश्रो अर्थात करले बिदेशिनेहरु भनेका केही बाध्यात्मक अवस्थासँग जोडिएका हुन्छन् । यसमा खासगरी आर्थिक पक्ष नै प्रमुख कारक देखिन्छ ।

बिदेशमा ज्याला, मजदूरी र जागिरका लागि जानेहरु सबैको ध्यान रकमको जोहो गर्ने नै सुनिन्छ । भारतका तीर्थस्थलहरुमा हिँड्न नसक्ने तीर्थथात्रीलाई बोकेर केदारनाथ, बद्रिनाथ लगायतका ठाउँमा ढाडमा मान्छे बोक्ने काममा जानेहरुदेखि साउदी तथा दुबईका मरुभूमिमा उँट चराउने काममा जानेहरुलाई बाध्यात्मक स्थितिमा बाहिरिएका भन्नै पर्दछ । रहरले अर्काको देशमा मान्छे बोक्ने र उँट तथा भेडा चराउने काममा बिरलै जान्छन् । घरायसी आर्थिक विपन्नताका कारणले बिरामीको उपचार खर्च तिर्नका लागि, छोराछोरी पढाउँदा लागेको ऋण तिर्नका लागि बिदेशमै गएर काम गर्नुपरेको बाध्यता एकथरिलाई छ भने अर्का केहि भने धेरै धन कमाएर शहरमा घर बनाउने र उद्योगहरु खोल्ने अनि बिलासी जीवन बिताउने उद्देश्य बोकेर बिदेशिनेहरु पनि छन् ।

२. सन्दर्भलाई बिदेशिएका नेपालीहरुको कथासँग यो आलेख जोड्न खोजिएको छ । पछिल्लो कालखण्डमा होम कार्कीको सनैयाले बिदेशिनेहरुको पीडालाई नजिकबाट नियालेर चित्रण गरेको धेरैले पढेको हुनुपर्दछ । त्यसपछि मणिराज गौतमको ‘प्रवासका फूलहरु’ अर्को किताब हो जुन बिदेशिएका नेपालीहरुको संघर्ष समेटिएको छ । बिगतमा कवि तथा साहित्यकारहरुले बिदेशमा नेपालीहरुका पीडा र व्यथालाई जोडेर धेरै किताबहरु लेखेको पाईन्छ । तिनीहरुमा कम यथार्थ र बढी काल्पनिक स्थितिको व्याख्या पाईन्छ । तर यी पछिल्ला किताबहरुमा भने सम्बन्धित व्यक्तिहरुको यथार्थ जीवन कथा पढ्न सकिन्छ । मणिराज गौतम पेशाले पत्रकार हुन् । नेपाल पत्रकार संघ मकवानपुरका जिल्ला अध्यक्ष भइसकेका मणिराजले खोज पत्रकारितामा राम्रो स्थान बनाएको भन्नै पर्दछ । उनी कवि साहित्यकारबाट होइन, रेडियो पत्रकारबाट पहिचान बनाएका एक अध्ययनशील र स्पष्ट पत्रकार हुन् ।

‘प्रवासका फूलहरु’ सायद मणिराजको पहिलो किताब हो । नामैले पनि यो किताबका सम्बन्धमा अनुमान गर्न सहज छ । यस किताबले बिदेशिएका नेपालीहरुको कथा अर्थात जीवनका भोगाइहरुका बारेमा वास्तविक चित्रण गरेको छ । यदि उक्त किताबमा भनिएका कुराहरु सत्य होइनन् भने सम्बन्धित व्यक्तिहरुले गरेको खण्डन बाहिर आइसक्ने नै थियो । त्यसैले पनि नेपालीले बिदेशमा गएर भोगेका क्रियाकलापहरुका बारेमा जानकारीका लागि उक्त किताब पर्याप्त छ भन्न सकिन्छ ।

३. प्रस्तुत किताब ‘प्रवासका फूलहरु’ मा ३९ जना व्यक्तिहरुको जीवन कथा समेटिएको छ । लेखक गौतमले सम्बन्धित मुलुकहरुको स्थलगत भ्रमण गरी उल्लेखित व्यक्तिहरुसँग भेटेर र उनीहरुकै मुखबाट भए गरेका संघर्षका कथाहरुलाई करिब जीवनी जस्तै चित्रण गर्ने काम गरेका छन् । प्रस्तुत किताबमा उल्लेख गरे अनुसार ९ वटा देशहरुमा रहेका ३९ जना नेपालीहरुको जीवन चरित्रले बिदेशिएका नेपालीहरुलाई नजिकबाट बुझ्न सरल बनाएको छ । भैरहवाका रामप्रताप थापा र ट्याङ्की मनाङ्गका दिल गुरुङ्ग २ जना जर्मनीमा क्रमशः बैकर्स र पर्यटन व्यवसायीका रुपपमा चिनिन्छन् । यी दुबै जना रहरले बिदेशिएका र प्रारम्भमा अलिक मिहिनेत गरेर पछि सम्पन्न भएका भित्र पर्दछन् । त्यस्तै, मन्थलीका दिनेश कुमार गिरी र बेनी म्याग्दीका सुमी घिमिरे सापकोटा यी २ जना स्पेनमा क्रमशः होटल व्यवसायी र नोकरी गर्दछन् भनिएको छ । यी दुबैको बैदेशिक रोजगारीमा गरेको संघर्ष पढ्न योग्य देखिन्छ ।

मणिराजले सबैभन्दा बढी बेल्जियममा २० जनासँग भेटेर उनीहरुको संघर्षपूर्ण जीवन कथालाई प्रस्तुत किताबमा उतार्ने भरमग्दुर प्रयत्न गरेको देखिन्छ । बेल्जियममा पेशा व्यवसाय गर्नेहरुमा जिलिङ्ग नुवाकोटका गोविन्द भट्ट, हर्नामाडी मकवानपुरका बिनोद बानियाँ, कन्काई झापाका चिरन कुमार खवास, चौघडा हेटौँडाका रहिम दिम मियाँ, सुनसरीका गोपाल दहाल, धादिङका काशी दनै र लोक दहाल, कुश्माका सुवास जोशी, गोरखाका सुरेन्द्र अधिकारी र तेज नेपाली, बाग्लुङका डिल्ली अम्माई र मदन दवाडी, लमजुङका प्रकाशराज गिरी, तेह्रथुमका याम निरौला, भरतपुर चितवनका सीता सापकोटा र राजु घिमिरे, गुल्मीका बलराम पुन, बुटवलका किसान केसी, सुर्खेतका कुमार शाही, पोखराका हरि भट्टराईका बारेमा उल्लेख गरिएको छ ।

४. डेनमार्कमा नोकरी गरिरहेका भरतपुरका धु्रव घिमिरे अर्का त्यस्ता व्यक्ति हुन् जो बिदेशमा गएर अरुको गुलामी गर्नुपर्दछ र धेरै संघर्ष गनुपर्छ तसर्थ यता भन्दा नेपालमै केहि गर्नुपर्छ भन्ने भनाई राख्दछन् । यहि क्रममा लेखक मणिराजले पोर्चुगलमा ४ जनासँग भेटेर उनीहरुका कथा उक्त किताबमा समेटेका छन् । पनौती काभ्रेका महेन्द्र महत, रामेछापका रिजन चौलागाई, स्याङ्जाका बालचन्द्र भट्टराई र चितवनका सागर न्यौपाने यी चारै जना क्रमशः नोकरी, कामको खोजी, होटल व्यवसायमा संलग्न रहेका छन् । रिजनलाई भने शुरुमा राम्रै भए तापनि पछि बिरामी पर्ने र कामको खोजीको भिन्न तनाव रहेछ । होटल व्यवसायीहरुको भने सुरुमा पीडापूर्ण संघर्ष गर्नु परे तापनि हाल भने सन्तोषजनक नै रहेको भनाई छ । त्यस्तै, लक्जेमबर्गमा पनि ४ जना पोखराका नारायण गुरुङ्ग, तम्घासका हरिबहादुर खत्री, बाग्लुङका चन्द्रबहादुर थापा र जितबहादुर थापासँगको भेट र कुराकानी उक्त किताबमा उल्लेख गरिएको छ । यी चारै जना होटल व्यवसायी हुन् भने सुरुवातमा अर्काको रेष्टुरेण्टमा काम गर्दाको अवस्था अत्यन्त दयनीय रहेको र बिस्तारै कष्ट झेल्दै अलग आफ्नै होटल चलाउने हिम्मत गरेका कहानीहरु समेटिएका छन् । सँगै, पोल्याण्डमा भने मात्र २ जना खोटाङका राजेश कार्की र नवलपरासीका नरेश सापकोटासँगको भेट र कुराकानी उल्लेख गरिएको छ ।

राजेश कार्की सेक्युरिटी कम्पनी व्यवसायमा संलग्न छन् भने नरेश सापकोटा होटल व्यवसायी हुन् । त्यस्तै, काठमाडौंबाट अनुष्का कार्की, गोर्खाबाट सुरेन्द्र काप्री र निर्मल अर्याल गरी ३ जना फ्रान्समा रहेका छन् । सुरेन्द्र पेरिसमै नेपाली हस्तकलाका सामानको व्यवसाय गर्छन् भने निर्मल चाहीँ गैरआवासीय नेपाली संघ फ्रान्सको जिम्मेवारी सम्हाल्दै ठूलै कम्पनीमा नोकरी गर्दछन् । नेपालमा पानी बिनाको गाडी धुने मेशिन भित्र्याउने प्रयास असफल भएको र प्रविधिका कामहरुमा समस्या आएको तितो अनुभव व्यक्त गरेका छन् । अनुष्का कार्की भने अध्ययनका लागि बुबासँग रहेको र नेपाल र फ्रान्सको शिक्षामा धेरै भिन्नता रहेको उनले बताएकी छन् । बालुङका नारायण आचार्य पनि नेदरल्याण्डमा होटल व्यवसायी नै भएको उल्लेख गरिएको छ ।

५. अन्तमा, उल्लेखित ९ वटा मुलुकमा रहेका ३९ जनाहरुको पूरा विवरणका लागि त उक्त किताब नै पढ्नै पर्दछ । बिदेश जाँदाको पृष्ठभूमि र सरकारी तथा गैरसरकारी बिचौलियाहरुबाट सुरु हुने भिन्न अनुभव सम्हालेर बिदेशको भूमिमा पाईलो टेकेपछिको पीडादायी संघर्षहरुमा प्रायः सबैको उस्तै समानता भेटिन्छ । बिस्तारै सुरुआतका चोटहरु बिर्सेर मिहिनेतका साथ विभिन्न पेशा व्यवसायमा संलग्न रहँदै प्रगति गरिरहे तापनि मातृभूमि प्रतिको माया र सम्झना सबैमा गहिरो रहेको उल्लेख गरिएको छ । सम्भव भएसम्म बिदेशमा आउनुभन्दा स्वदेशमै रहेर दुख मिहिनेत गर्नु राम्रो हुने भनाई सबैको छ । आफ्नो मुलुकको प्रतिकूल परिस्थितिबाट बिदेशिनु परेकोमा पीडा व्यक्त गर्दै अरुलाई त्यस्तो अवस्था नपरोस् भन्ने अपेक्षा धेरैको रहेछ । मातृभूमिको प्रगतिका लागि योगदान गर्न तयार रहेको उल्लेख गर्दै दोहोरो नागरिकताको माग गर्नेहरु रहेको समेत उक्त किताबमा उल्लेख गरिएको छ । खोजमूलक र यथार्थपरक किताबको साहित्यमा भिन्न स्थान रहने भएकाले पनि एकै किताबबाट धेरै देश बुझ्न मणिराज गौतमको ‘प्रवासका फूलहरु’ सहयोगी भएको भन्दा अत्युक्ती नहोला ।

Exit mobile version