Home खेलकुद बागमती गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि सूर्य माविलाई

बागमती गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि सूर्य माविलाई

बागमती गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि साथ सूर्य माविको टिम ।

हेटौँडा : आठौँ संस्करणको बागमती गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि बागमती–१ स्थित सूर्य माध्यमिक विद्यालयले उचालेको छ । आइतबार सम्पन्न भएको प्रतियोगितामा सूर्य माध्यमिक विद्यालयले ११ स्वर्ण र १४ रजतसहित उपाधि उचालेको हो ।

आठौँ संस्करणको उपाधि जितेसँगै सूर्य माविले लगातार दोस्रो संस्करण जितेको छ । यसअधि सूर्य माविले गत वर्ष भएको सातौं संस्करणको उपाधि पनि जितेको थियो । आठौँ संस्करणको प्रतियोगितामा बागमती–५ स्थित देवकी माध्यमिक विद्यालय ११ स्वर्ण र १३ रजतसहित द्वितीय र बागमती–८ स्थित जनता माध्यमिक विद्यालय ११ स्वर्ण र ८ रजतसहित तृतीय भएको हो । तीनै वटै विद्यालयले बराबर स्वर्ण ल्याए पनि रजतको आधारमा सूर्य माविले उपाधि जित्न सफल भएको हो ।

प्रतियोगितामा देवकी माध्यमिक विद्यालयबाट सबैभन्दा बढी ४९ छात्रा र ५२ छात्र गरी १ सय १ जना विद्यार्थीहरु सहभागी भएका थिए । देवकी माविका प्रविन राई उत्कृष्ट छात्र र सूर्य माविकी सविता मोक्तान उत्कृष्ट छात्रा खेलाडी घोषित भए । राईले १ सय मिटर दौड, २ सय मिटर दौड र लङजम्प गरी व्यक्तिगत ३ स्वर्ण जितेका छन् । मोक्तानले पनि ४ सय मिटर, ८ सय मिटर दौड र हाइजम्पमा गरी ३ स्वर्ण जितेकी छिन् । प्रतियोगिता बागमती–४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा भएको थियो ।

आइतबार बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङको सभाध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, मकवानपुर फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version