हेटौँडा : नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फ सार्वजनिक गरेको बन्दसूचीमा समेटिएका ११० उम्मेदवारमध्ये बागमती प्रदेशबाट २० जनाको नाम परेको छ । सूचीअनुसार बागमती प्रदेशभित्र सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६ जनाको नाम समावेश गरिएको छ । पार्टीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंबाट नियती सिंह, भीमसेनदास प्रधान, नारायण श्रेष्ठ, कमला राजभण्डारी, श्रीविनोद भट्टराई र हरिशरण नेपाली गरी ६ जनाको नाम बन्दसूचीमा परेको छ ।
यस्तै, दोलखाबाट छिरिङ डोल्मा शेर्पा, रामेछापबाट ग्याल्जे शेर्पा, रसुवाबाट पेम्बा छिरिङ तामाङ बन्दसूचीमा परेका छन् । नुवाकोटबाट महेन्द्र थिङ, जगतबहादुर तामाङ र अर्जुननरसिंह केसीको नाम सूचिमा समावेश छ भने मकवानपुरबाट पवित्रा सुनार र शर्मिला श्रेष्ठ बन्दसूचीमा परेका छन् । यसैगरी धादिङबाट शान्ता कुमारी तामाङ र सेतेमान तामाङको नाम समेटिँदा भक्तपुरबाट विनोद प्रकाश कायस्थ, गणेशमान चक्रधर र डा. गंगालक्ष्मी अवाल तथा सिन्धुलीबाट नरेन्द्रजंग थापाको नाम समानुपातिक बन्दसूचीमा परेको छ ।
तर, चितवन, ललितपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाबाट भने समानुपातिक बन्दसूचीमा एकजनाको पनि नाम परेको छैन । कांग्रेसले समानुपातिक बन्दसूची समावेशी सिद्धान्तअनुसार विभिन्न समुदाय, वर्ग र क्षेत्रको प्रतिनिधित्व हुने गरी तयार गरिएको जनाएको छ ।
