Home मुख्य समाचार पूर्वविद्यार्थीद्वारा श्रमिक माविलाई सहयोग

पूर्वविद्यार्थीद्वारा श्रमिक माविलाई सहयोग

सहयोग रकमको नमूना चेक हस्तान्तरण गरिँदै ।

हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले विद्यालयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । विद्यालयमा जारी हीरक जयन्तीको अवसरमा आयोजित पूर्वविद्यार्थी भेलामा पूर्वविद्यार्थीहरुको श्रमिक क्रियाशील विद्यार्थी समूहले नगद सहयोग हस्तान्तरण गरेको हो ।

श्रमिक माध्यमिक विद्यालय पूर्वविद्यार्थी समाजका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाललाई सहयोग रकम हस्तान्तरण गरिएको हो । यस्तै पूर्वविद्यार्थी समाजका अध्यक्ष सुरेश श्रेष्ठले पनि ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।

पूर्वविद्यार्थी भेलामा अध्यक्ष सुरेश श्रेष्ठले विद्यालयको समग्र विकासमा पूर्वविद्यार्थीको साथ, सहयोग र आवश्यक सहकार्यका लागि पूर्वविद्यार्थी समाजले निरन्तर प्रयास गरिरहेको बताउनुभयो । पछिल्लो समय विद्यालयको समग्र विकासमा सन्तोषजनक प्रयास भइरहेको, विद्यार्थीको संख्या र शैक्षिक क्रियाकलाप पनि सकारात्मक बन्दै गएको उल्लेख गर्नुहुँदै विद्यालय प्रशासनले पूर्वविद्यार्थीसँगका अपेक्षाका बारेमा पनि जानकारी गराउन आग्रह गर्नुभयो ।

विद्यालयको समग्र प्रयास र अभ्यासका बारेमा जानकारी दिनुहुँदै प्रधानाध्यापक श्रीराम दाहालले पूर्वविद्यार्थीको साथ र सहयोग उल्लेखनीय रहँदै आएको बताउनुभयो । उहाँले अक्षयकोषलाई २० लाख रुपैयाँसम्म पुर्‍याउन पूर्वविद्यार्थीको सहयोगको अपेक्षा राख्नुभयो । विद्यालयको सुधार प्रयास जारी रहेको र भौतिक पूर्वाधारसँगै निकट भविष्यमै विद्यार्थी संख्या एक हजार पाँच सय पुर्‍याउने लक्ष्य प्रस्तुत गर्नुभयो ।

विद्यालयले बिहीबारदेखि हीरक जयन्तीको अवसरमा विविध क्रियाकलाप गर्दै आएको छ । हीरक जयन्तीको समापन कार्यक्रम सोमबार हुनेछ । विद्यालयले हीरक जयन्तीको अवसरमा स्मारिका प्रकाशन गर्नुका साथै हीरक जयन्ती स्तम्भ समेत निर्माण गरेको छ ।

Exit mobile version