Home मुख्य समाचार स्वर्ण महोत्सव मनाइरहेका मकवानपुरका विद्यालयहरु

स्वर्ण महोत्सव मनाइरहेका मकवानपुरका विद्यालयहरु

१. वि.सं. २०३२ सालमा स्थापना भएका शिक्षण संस्थाहरुमा यो वर्ष स्वर्ण वर्ष समारोह मनाउने क्रम तीव्ररुपमा जारी छ । सबैखाले संघ, संस्थाहरु र व्यक्तिका हकमा समेत यस्ता आवधिक समारोह मनाउने परम्परा चलिआएको पाईन्छ । जन्मेको ५० वर्षमा अर्थात आधा शताब्दी उमेरमा स्वर्ण वर्ष उत्सव मनाईन्छ । जसरी एक वर्षको अवधिलाई वार्षिक उत्सव भने जस्तै २५ वर्षको अवधिमा मनाईने उत्सवलाई अंग्रेजीमा सिल्भर जुब्ली भनिन्छ । त्यसैगरी ५० वर्ष पुगेको उपलक्ष्यमा मनाइने समारोहलाई गोल्डेन जुब्ली र ६० वर्ष पूरा गरेपछि र कतिपय स्थानमा कसैले ७५ वर्षको अवसरमा समेत मनाईने उत्सवलाई डायमण्ड जुब्ली भन्ने गरिएको छ ।

प्रचलन अनुसार ७० वर्षको अवधिमा मनाइने उत्सवलाई प्लेटिनम जुब्ली र १०० वर्ष अर्थात शताब्दी उत्सवलाई सेन्चुरी भन्ने गरिएको छ । यसै क्रममा १५० वर्ष र २०० वर्ष पुगेको अवसरमा मनाइने उत्सवलाई क्रमशः सेस्क्विन्टियल र बाइसेन्टेनल समारोह भन्ने गरिएको छ । यस प्रकारका अवधिमा आधारित रहेर व्यक्ति, संस्थाहरु र राष्ट्रकै समेत वार्षिक उत्सव समारोहहरु विभिन्न मुलुकहरुमा आयोजना हुने प्रचलनहरुका बारेमा धेरैलाई बिदितै छ । हाम्रो सन्दर्भमा समेत विश्वविद्यालयहरु, कलेजहरु, विद्यालयहरु र अन्य संस्थाहरुले आफ्नो संस्थागत प्रकृति र पहिचान झल्काउने कार्यक्रमहरु प्रदर्शन गरी वार्षिक उत्सव मनाइरहँदा थप उन्नति र प्रगतिको अपेक्षाका शुभभावनाहरु व्यक्त गरिन्छन् ।

२. उत्सव अर्थात समारोह भन्नासाथ संस्था सजाउने रंगीचंगी बनाउने र आकर्षक देखाउने काम हुन्छ । प्रचार–प्रसारका लागि विज्ञापन गर्ने काम छोडिन्न । कतै जन्मेको दिन वा स्थापना भएको दिन वा घोषणा भएको दिन वा औपचारिकता वा कानूनी मान्यता प्राप्त गरेको दिनलाई तोकेर नै सोहिदिन मात्र समारोहको आयोजना गर्ने गरिन्छ । कसैले साप्ताहिक रुपमा र कतै महिनाभर अझ कतै त वर्ष भरि नै यस प्रकारका उत्सवहरु मनाउने गरिएको सुनिन्छ । अवधिको आधार वा संस्थागत चरित्रले यस्ता उत्सवहरु निर्धारण गर्ने गरेको पनि हामीले सुनेका छौं । यस्ता समारोहमा सरोकारवालाहरुलाई आमन्त्रण गरिन्छ । हाम्रो सन्दर्भमा देशका माथिल्लो पदमा रहेका ठूला व्यक्तिहरुलाई यस्ता समारोहमा प्रमुख अतिथि र बिशिष्ट अतिथि बनाउने परम्परा छ ।

नेताहरु, मन्त्री गण र उच्च पदस्थ प्रशासकहरुको उपस्थिति भएको समारोह र संस्थाको समाचार बन्ने र प्रचार हुने भएकाले पनि ठूला मान्छेहरुलाई बोलाएर प्रमुख अतिथि बनाउने प्रतिस्पर्धा बन्दै आएको छ । यस्ता समारोहहरुमा आर्थिक सहयोगका नाममा र अक्षयकोषका नाममा अर्थ संकलनको काम निकै उत्साहका साथ गरिन्छ । के कामका लागि कति रकम आवश्यक पर्ने हो, त्यस बारे कुनै योजना बनाएको हुँदैन । छात्रवृत्ति कोष भनिन्छ, तर उक्त छात्रवृत्ति कस्लाई वितरण गर्ने हो, कहिले गर्ने हो जस्ता सवालमा सामान्य खाका पनि हुँदैंन । तैपनि रकम जम्मा गर्नेहरुको भिड लागेकै हुन्छ ।

३. सन्दर्भलाई शिक्षण संस्थाहरुको स्वर्ण वर्ष समारोहहरुसँगै जोडेर समसामयिक सवालहरु उजागर गर्नमा यो आलेख केन्द्रीत रहेको छ । स्वर्ण वर्ष समारोहमा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर राम्रो गर्नेलाई विभिन्न विधामा पुरस्कृत गर्ने कामलाई प्राथमिकता दिएको पाईन्छ । त्यस्तै शिक्षक तथा अभिभावकका प्रतिभाहरु पनि यस्ता समारोहमा देख्न सकिन्छ । विशेषगरी विगतमा योगदान गरेका नाममा संस्थाका शिक्षक वर्ग, समितिका पदाधिकारीहरु, कर्मचारीहरु सबैलाई प्रमाणपत्रसहित सम्मान गर्ने गरिन्छ । यस प्रकृतिका प्रमाणपत्रहरुमा उल्लेख गरिने शब्दहरु सम्बन्धित नामथर बाहेक सबैलाई एकै प्रकारको हुन्छ । कुनै कालखण्डमा पढाउन अल्छी गरेकै कारणले उसका विषयमा कहिल्यै पास गर्न नसकेर पढाई नै छाड्नु परेका विद्यार्थी आज ठूलो नेता बनेका प्रमुख अतिथिका हातबाट त्यहि शिक्षकले शिक्षामा ठूलो योगदान गरेवापत सम्मान ग्रहण गरेको दृष्य थाहा हुनेहरुका लागि त हेर्नलायक बन्छ नै ।

भ्रष्टाचारको आरोप लागेर दशकौं पहिले खेदिएका शिक्षक कर्मचारीलाई बोलाएर यस प्रकारका समारोहमा सम्मान गरिँदा ती प्रमाणपत्रहरुले गिज्याएको भाषा बुझ्ने बिरलै भेटिन्छन् । त्यसैले पनि गोलमटोलमा सम्मान गर्ने, पुरस्कृत गर्ने र प्रमाणपत्र प्रदान गर्ने कामले महत्व राख्न छाडेको महसुस गरिएको छ । प्रमाणपत्र दिँदा पनि कस्लाई ? के कामका लागि ? किन सम्मान योग्य भएको हो ? सो स्पष्ट खुलाएर उल्लेख गरी प्रदान गर्ने हो भने त्यसले केही अर्थ राख्दछ र प्राप्त गर्नेका लागि पनि स्मरणयोग्य बन्दछ । सस्तो सम्मान र औपचारिकताको आयु छोटो हुन्छ ।

४. पछिल्लो कालखण्डका केहि शिक्षण संस्थाहरुले विज्ञापन गरी स्वच्छ शैलीबाट नियुक्त गरेका राम्रा शिक्षक कर्मचारीहरु बाहेक विद्यालयका प्रधानाध्यापक, कलेजका प्रमुख, अध्यक्ष र स्थानीय प्रतिनिधिहरुका दलीय भागबण्डा र उनीहरुकै चाकडी गरेर निजीश्रोतका नाममा प्रवेश गर्ने शिक्षक कर्मचारीहरुको संख्या आज पनि कम छैन । ती व्यक्तिहरु जागिरका लागि प्रवेश भएकाले संस्थागत विकासमा योगदान गरेको अत्यन्त कम भेटिन्छ । अझ, यस्ता सभा समारोहहरुमा सम्मानका लागि आफ्नो पालो चाँडो आईदिए हुन्थ्यो जस्तो गरेको देख्दा थप उदेक त लाग्ने नै भयो । सम्मान लिने र दिनेहरु अत्यन्त हतार र आतुरमा रहने यस प्रकृतिका समारोहहरुमा गर्नै पर्ने काम ओझेलमा परेको पाईन्छ ।

प्रचार प्रसार अत्यन्त महत्वपूर्ण पक्ष हो नै । इतिहासको स्मरण र संरक्षणले भविष्यका सन्ततीहरुका लागि एक सिकाई आधार अनि विषय बन्न सक्छ । तसर्थ, इतिहास भन्नासाथ मात्र राम्रा कुरा र काम समेटिएका चित्रहरुको अभिलेख मात्र पनि होईन । तत्कालिन असहजता, कठिनाई, तिता पक्षहरु, नराम्रा लाग्ने खराब घटनाहरु पनि त इतिहासका पक्ष हुन् । इतिहास त प्रशंसनीय मात्र होइन, निर्मम पनि भेटिन्छ । कमजोरी र असफलताहरु सिकाईका आधारहरु बन्न सक्छन् । के कारणले कुन काम बिग्रेको हो वा खराब भएको हो, सो सच्याएर वा त्यस्तो नहुनबाट जोगिनका लागि योजना बनाउन सकिन्छ । त्यसैले पनि इतिहास उल्लेख गर्दा राम्रा नराम्रा दुबै पक्षहरु समेट्नु राम्रो हुन्छ ।

५. वार्षिक उत्सव मनाइरहँदा विगतको सटिक र ठोस विश्लेषण छुटाउनु हुँदैन । आगामी योजनाका लागि पर्याप्त छलफल र अन्तरक्रिया गरिनु राम्रो हुन्छ । आजसम्म कतिजना क–कसलाई कुन पदमा पु¥याउने आधार यो शिक्षण संस्था बन्यो भनेर विवरण दिने मात्र नभई सम्भव भएसम्म ती व्यक्तिहरुको भौतिक उपस्थिति गराउने त्यो पनि नसकिए भर्चुअल उपस्थिति गराएर प्रतिक्रिया, सल्लाह लिनु राम्रो हुन्छ । आगामी ५ वर्षमा यो संस्थाको लक्ष्य यो हो अनि १० वर्षमा हामी पुग्ने गन्तव्य यो हो भनेर स्पष्ट दृष्टिकोण यस्ता समारोहमा जिम्मेवार पक्षले छुटाउन हुँदैन । आर्थिक सहयोग लिने दिने दुबै पक्ष योजना प्रति सजग र जानकार हुनै पर्दछ ।

धेरै संस्थाहरु आर्थिक अपारदर्शिताकै कारणले आलोच्य र बदनाम समेत भएका छन् । सप्ताह महायज्ञमा प्रतिवद्धता जनाउने र सम्मान प्रदर्शन गर्ने गराउने तर कबोल गरिएको रकम कहिल्यै जम्मा नगर्ने प्रवृत्ति जस्तै स्वर्ण वर्ष समारोहमा यतिउति रकम आर्थिक सहयोग गर्नेछु भन्दै सम्मानित बन्ने अनि कार्यक्रम सकिएपछि सो बोलेको बिर्सने रोग अधिक देख्न, सुन्न सकिन्छ । यो पक्ष कदापि राम्रो होईन । मन्त्री तथा नेताहरु अनि स्थानीय तहका प्रमुखहरुले भाषणका क्रममा राज्यकोषको रकम अनुदान दिँदा बोल्ने भाष्य आफ्नो निजी सम्पत्तिबाट जस्तो गरी व्यक्त गर्दा उनीहरुको ज्ञानको स्तर सुन्दा दिक्क लाग्छ । यस्ता अनेकन पक्षहरुलाई सुधारेर हतार नगरी व्यवस्थित र प्रभावकारी समारोह बनाउन पनि त सकिन्छ ।

६. इतिहासबाट सिक्ने हो । विगतका नराम्रा काम निषेध गर्ने हो । असल क्रियाकलापलाई निरन्तरता दिनैपर्दछ । अझ उन्नत र समृद्ध संस्था बनाउन गर्नुपर्ने कामको सटिक र स्पष्ट विवरण सार्वजनिक गर्नुपर्दछ । भविष्यका लागि योजनाबद्ध खाका यस्ता समारोहमा दिनैपर्दछ । अरुले गरेका राम्रा अभ्यासहरुको अनुशरण गर्दा फलदायी हुन्छ नै । आर्थिक लगायतका सबै क्रियाकलापमा पारदर्शिता आजको माग हो । मुलुकका कुनैपनि कुनामा रहेका शिक्षण संस्थाहरुले वार्षिक उत्सव तथा स्वर्ण वर्ष समारोहहरु मनाइरहेकाहरुको ती सबैको फरक नाम ठेगाना यहाँ उल्लेख नगरी सबैलाई एकै स्थानबाट वर्तमान समयमा संस्थागत समृद्धि र उच्च सफलताकोे शुभकामनासहित शैक्षिक गुणस्तरीयताका आधारभूत पक्षहरुमा ध्यानाकर्षणको अपेक्षा गर्दछु ।

Exit mobile version