हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको आयोजनामा जिल्लास्तरीय चित्रकला प्रतियोगिता आउँदो आइतबार (पुस १३ गते) हुने भएको छ । विद्यालयले हीरक जयन्तीको अवसरमा उक्त प्रतियोगिता गर्न लागेको हो । नेपाल रेडक्रस सोसाइटी मकवानपुरले सूचना जारी गरी जुनियर तथा युवा रेडक्रस सर्कल गठन भएका जिल्लाका सबै माध्यमिक विद्यालयहरुलाई सहभागितामा सहभागी हुन आग्रह गरेको छ ।
प्रतियोगिताका केहि नियमहरु तोकिएका छन् । जसअनुसार प्रतियोगितामा ‘भविष्यको मेरो विद्यालय’ शीर्षकमा आधारित भएर चित्र बनाउनु पर्नेछ । प्रतियोगिता स्थलगत हुने र कक्षा १० सम्म अध्ययनरत विद्यार्थीमात्रै सहभागी हुन पाउनेछन् । एउटा विद्यालयबाट एकजना मात्रै सहभागी हुन पाउने व्यवस्था छ । चित्र बनाउका लागि कागजबाहेकका अन्य सामग्री प्रतियोगी आफैँले व्यवस्था गर्नुपर्ने र चित्र बनाउने समयावधि २ घण्टाको हुने सूचनामा उल्लेख छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी एक जनाले सान्त्वनास्वरुप ५ सय रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
श्रमिक माविले विविध कार्यक्रम गरी हीरक जयन्ती मनाउँदैछ । विद्यालय स्थापना भएको ६० वर्ष पुगेको अवसरमा पुस ९ गतेदेखि १४ गतेसम्म हीरक जयन्ती समारोह आयोजना गरी विविध कार्यक्रम गर्न लागेको हो ।
