हेटौँडा : हेटौँडा–९, लामसुरेहाइटस्थित सिआन पुनस्र्थापना केन्द्रमा १५ दिने कफी बनाउने तालिम बिहीबारदेखि सुरु भएको छ । सिआन पुनस्र्थापना केन्द्रको व्यवस्थापनमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेश र उद्योग तथा वाणिज्य कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले दुव्र्यसन एक रोग भएको र उपचारपछि समाजमा पुनस्र्थापना सम्भव हुने बताउनुहुँदै तालिमले सहभागीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सीपमूलक तालिमले व्यक्तिलाई आत्मनिर्भर र व्यवसायी बन्न प्रेरणा दिन भएकोले प्रदेश सरकारले लगानी गरेको बताउनु भयो । उद्योग वाणिज्य कार्यालयले तालिमपछि दुव्र्यसनीको शिकार भएका युवालाई समाजमा आर्थिक पुनस्र्थापनाका लागि उद्योग स्थापना गर्न आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सिआनका कार्यकारी निर्देशक सौजन डिसीको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईं, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख राम भुसालको पनि आतिथ्य रहेको थियो । पुनस्र्थापना केन्द्रमा उपचाररत २० जना युवालाई लक्षित गरी ९० घण्टाको कफी बनाउने (बारिस्ता) तालिम सञ्चालन गरिएको हो । प्रमुख प्रशिक्षक सरोज बर्तौला र सहायक प्रशिक्षक नकुल श्रेष्ठले तालिममा प्रशिक्षण दिनुहुनेछ । तालिमले उपचारपश्चात् समाजमा पुनस्र्थापित भई आत्मनिर्भर जीवनयापनतर्फ अघि बढ्न सहभागीहरूलाई महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
