हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिनामा जिल्लामा भएका विभिन्न गतिविधि तथा प्रगति सार्वजनिक गरेको छ । कार्यालयले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार मंसिर महिनामा जिल्लाभर ८८ वटा विभिन्न प्रकृतिका अपराधका घटना दर्ता भएका छन् ।
प्रहरीका अनुसार अपराध अनुसन्धान तथा नियन्त्रणका ८८ वटा मुद्दा दर्ता भएकामध्ये ४५ वटा फछ्र्यौट भएका छन् भने ४३ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका छन् । एउटा कर्तव्य ज्यान, २ वटा सवारी ज्यान, ४ वटा चोरी, १६ वटा अभद्र व्यवहार, एउटा बहुबिबाह र एउटा विद्युतीय अपराधका मुद्दा फछ्र्यौट भएका छन् । ठगीको एउटा, बैंकिङ कसुरको १२ वटा, लागूऔषध सम्बन्धी २० वटामध्ये १८ वटा र आपराधिक उपद्रवका ९ मध्ये २ वटा मुद्दा फछ्र्यौट भएका छन् । एउटा जबरजस्ती करणी, ६ वटा आत्महत्या र फुटकर तथा भवितव्यका ११ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घरेलु हिंसासम्बन्धी १९ वटा उजुरी परेकोमा १० वटा मिलापत्र गरिएको छ भने एउटा मुद्दा अदालत पठाइएको छ । बाँकी उजुरीहरू स्थानीय तहसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । प्रत्यक्षरूपमा प्रहरी कार्यालयमा परेका ८४ वटा उजुरीमध्ये ७१ वटा फछ्र्यौट गरिएको छ भने जिल्ला प्रशासन कार्यालयमार्फत् आएका २७ वटा उजुरीमध्ये १६ वटा फछ्र्यौट भएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ३९ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये २५ वटा फछ्र्यौट भएका छन् । पीडित तथा पीडकको उमेर समूहका आधारमा तथ्याङ्क विश्लेषण गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मंसिर महिनामा प्रहरीले चालु मुद्दाका फरार प्रतिवादीहरू ६३ जनालाई पक्राउ गरेको छ । सार्वजनिक चासोका पेण्डिङ्ग मुद्दाहरूमा पनि सफल अनुसन्धान तथा कारबाही भएको प्रहरीले जनाएको छ । मंसिरमा सम्पत्ति शुद्धीकरणसम्बन्धी भने कुनै मुद्दा दर्ता नभएको प्रहरीले जनाएको छ । मंसिर महिनामा अदालतबाट भएका फैसला कार्यान्वयनका क्रममा १९ जना पक्राउ परेका छन् । उनीहरूबाट ९ वर्ष २ महिना १० दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ३ लाख १३ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंसिर महिनामा ११ महिला, ३ पुरुष, १० बालबालिका र एक जना ज्येष्ठ नागरिक गरी जम्मा २५ जना हराएको उजुरी परेको थियो । तीमध्ये ६ महिला, एक पुरुष, ८ बालबालिका र एक जना ज्येष्ठ नागरिक गरी १६ जना फेला परेका छन् भने बाँकीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
मंसिर महिनामा प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । प्रहरीले लागूऔषधमा ५ सय ५० किलो ८ सय १० ग्राम गाँजा, २९ ग्राम ३ सय ८२ मिलिग्राम खैरो हेरोइन, १६ हजार १ सय ६७ क्याप्सुल ट्रामाडोल, ४० ट्याब्लेट एन्टिकफ र १० ट्याब्लेट स्टागनसहित २ जना महिला, २ जना तेस्रो लिंगी र २५ जना पुरुष गरी २९ जनालाई पक्राउ गरेको छ ।
यसैबीच, प्रविधिसँग सम्बन्धित अपराध नियन्त्रणतर्फ पनि प्रहरीले सक्रियता देखाएको छ । विवरणअनुसार हराएका ६६ वटा मोबाइलमध्ये ७ वटा मोबाइल फेला पारेको छ । अनलाइन ठगीका २२ वटा उजुरीमध्ये एउटा वटा फछ्र्योट भएको छ भने साइबर अपराधसम्बन्धी ४ वटा उजुरी दर्ता भएका छन् ।
मकवानपुरका ६ वटा आत्महत्याका घटना भएका छन् । तीमध्ये ३ वटा झुण्डिएर र ३ वटा विष सेवन गरी ४ पुरुष र २ महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । उमेर समूहअनुसार २५ देखि ४० वर्ष समूहका एक जना र ४० देखि ६० वर्ष समूहका ५ जना रहेका छन् ।
यस्तै, १६ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने केही घाइते भएका प्रहरीले जनाएको छ । सवारी चेकजाँचका क्रममा एक हजार २५१ वटा सवारी साधनलाई कारबाही गरी ११ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।
अवैध गतिविधि अन्तर्गत मनहरी गाउँपालिका–६ बाट २ वटा भरुवा बन्दुक बरामद गरेको छ । यस्तै, अवैध भन्सार छली नियन्त्रणका क्रममा ४ करोड ८७ लाख ७३ हजार ७५५ रुपैयाँ बराबरका सामानसहित २ जना पक्राउ गरेको छ भने एउटा सवारी साधन नियन्त्रणमा लिएको छ । मंसिर महिनामा अनुचित लेनदेन नियन्त्रणसम्बन्धी कुनै निवेदन दर्ता नभएको र मिलापत्र वा फछ्र्यौटबाट रकम वा घरजग्गा फिर्ता भएको विवरण नरहेको प्रहरीले जनाएको छ ।
मंसिर महिनामा आगलागीका ३ वटा घटनामा ३ घर र १ गोठ पूर्णरूपमा क्षति भएको छ । प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ नदीजन्य पदार्थ उत्खननमा संलग्न एउटा स्काभेटर, १० वटा टिपर र १९ वटा ट्याक्टर गरी जम्मा ३० वटा सवारी साधनलाई कारबाही गर्दै २ लाख ५१ हजार २७३ रुपैयाँ दण्ड जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
समुदाय–प्रहरी साझेदारीअन्तर्गत मकवानपुर जिल्लाको ६३ वटा स्थानमा विभिन्न किसिमका कार्यक्रमको आयोजना गरिएको थियो भने सचेतनामूलक कार्यक्रम २५ वटा विद्यालयमा सञ्चालन गरिएको छ । अपराध रोकथाम तथा न्यूनीकरणका लागि प्रहरी परिचालन, नियमित गस्ती तथा निगरानी, अपराधसम्बन्धी सूचना संकलन, रात्री गस्ती तथा संवेदनशील क्षेत्रमा विशेष निगरानीलाई प्राथमिकतामा राखेको जनाएको छ । साथै, समुदाय तथा विद्यालय केन्द्रित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आपराधिक गतिविधि नियन्त्रणमा जोड दिएको छ ।
मंसिर महिनामा बन्द तथा हड्ताल नभए पनि ४ वटा विरोध कार्यक्रममा १०९ जना प्रहरी परिचालन गरिएको थियो । यस्तै, मूर्ति विसर्जन, मेला पर्व तथा जात्राका अवसरमा २३० जना प्रहरी परिचालन गरी कुनै पनि गैरकानुनी गतिविधि हुन नदिई कार्यक्रम सम्पन्न गराइएको प्रहरीले जनाएको छ । यस्तै, शान्ति सुरक्षा कायम गर्न एक महिनाको अवधिमा १ हजार ३५१ वटा पिकेट, १ हजार १२० वटा सवारी तथा व्यक्तिको चेकिङ, ५८ वटा मोबाइल रोड पेट्रोल, २ वटा लोकल रोड पेट्रोल र २९७ वटा विशेष रोड पेट्रोल परिचालन गरिएको छ ।
हेटौंडाको सडक विस्तार कार्यका क्रममा सम्भावित विवाद र अव्यवस्था रोक्न प्रहरी उपरीक्षकको कमाण्डमा ५०३ जना प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको थियो । प्रहरी परिचालन तथा कारबाहीका क्रममा कुनै पनि मानवीय वा भौतिक क्षति नभएको जनाइएको छ । प्रहरीतर्फ घाइते वा मृत्यु, सवारी साधन तथा सामग्री नष्ट, अश्रुग्यास प्रयोग वा अन्य सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति भएको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले समुदाय–प्रहरी साझेदारीलाई सुदृढ बनाउने उद्देश्यले विभिन्न कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गरेको छ भने सार्वजनिक÷नागरिक सुनुवाइ कार्यक्रम आयोजना हुन नसकेको जनाइएको छ । सीमान्तकृत, अल्पसंख्यक तथा पिछडिएका वर्ग लक्षित कार्यक्रमअन्तर्गत अल्पसंख्यक समुदायका ३२ जना सहभागीसहित ३ वटा कार्यक्रम सञ्चालन गरिएको छ ।
मकवानपुर प्रहरीले पछिल्लो अवधिमा नागरिकता, हातहतियार नवीकरण तथा अन्य कागजातका लागि कुल ४९ वटा मुचुल्का तयार गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, प्रहरी कार्यालयको हटलाइन तथा डिएसपी÷डिएओको सम्पर्क नम्बरमा मातहत कार्यालयहरूमा १२ हजार ५ सय वटा फोन कल प्राप्त भएका छन् । नागरिक सहायता कक्षबाट कुल २ हजार ७ सय ७१ जना सेवाग्राहीले सेवा लिएका छन् । प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि गर्न विभिन्न प्रेरणामूलक तथा सहयोगात्मक क्रियाकलापहरू सञ्चालन गरिनुका साथै नवप्रवर्धनात्मक तथा रचनात्मक कार्यअन्तर्गत मकवानपुरको प्रहरी चौकी सिमभञ्ज्याङमा ड्युटी पोष्ट निर्माण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आगामी दिनमा पनि अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, विपद् उद्दार तथा समुदायमैत्री गतिविधि, सामाजिक सुरक्षा, महिला तथा बालबालिका संरक्षण र लागूऔषध नियन्त्रणलगायतका गतिविधिलाई थप प्रभावकारी बनाउने जनाएको छ ।
