Home मुख्य समाचार हिंसा अन्त्य गर्न सरकारको हस्तक्षेपकारी भूमिका आवश्यक: उपसभामुख चापागाई

हिंसा अन्त्य गर्न सरकारको हस्तक्षेपकारी भूमिका आवश्यक: उपसभामुख चापागाई

हेटौँडा: बागमती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईले लैंगिक हिंसा अन्त्यका लागि सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । बिहीबार हेटौँडामा भएको लैंगिक हिंसा प्रतिकार्य संयन्त्र सुदृढीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र भूमिका सम्बन्धी प्रदेशस्तरीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपसभामुख चापागाईले राज्यको भूमिकाबारे उल्लेख गर्नुभएको हो । उहाँले राज्य संरचनामा सुधार नहुँदासम्म लैंगिक हिंसा अन्त्य गर्न नसकिने बताउनुभयो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जस्ता अंगहरुमा प्रभावकारी ढंगले सुधार गरी लैंगिक हिंसा अन्त्य गर्न सकिने उहाँको भनाई छ । उपसभामुख चापागाईले हरेक तहमा बसेकाहरुले इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । शिक्षा, स्वास्थ्य र रोजगारीमा जस्ता आधारभूत विषयहरुमा महिलाको सहज पहुँच हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा लैंगिक हिंसाको अन्त्य र न्याय सुनिश्चितताका लागि १२ बुँदे बागमती प्रदेश मागपत्र २०८२ बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईलाई बुझाइएको छ । तेश्रो बागमती प्रदेशस्तरीय महिला सम्मेलनबाट पारित भएको मागपत्र यौन हिंसा विरुद्ध अभियान चितवनकी सावित्री पौडेलले उपसभामुख चापागाईलाई मागपत्र बुझाउनुभएको हो ।

मागपत्रमा संविधानमा उल्लेख भएका सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक, रोजगारीको हक लगायतको उचित कार्यान्वयन गर्न माग गरिएको छ । हिंसा प्रभावितहरुलाई नै प्रमाण संकलन गर्न बाध्य पार्ने अवस्था अन्त्य गरी राज्यका निकायहरुलाई अनुसन्धान र न्यायिक प्रक्रियामा जिम्मेवार बनाउने नीति निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । सरकारले स्थानीय तहमा न्यायिक डेस्क स्थापना गरी जोखिममा रहेका महिलाहरुको अधिकारको रक्षा गर्नुपर्ने, न्याय पहुँच र सेवा प्रवाहमा सुनिश्चितता हुनुपर्ने, समुदाय तहका सहयोगी संयन्त्रहरुको तत्काल व्यवस्था हुनुपर्ने, हिंसा प्रभावित महिलाहरुको मनोबल बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने समेत मागपत्रमा उल्लेख गरिएको छ । महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउन उनीहरुको व्यावसायिक सीप, क्षमतामा पनि विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

एक्सन एड नेपालको आर्थिक सहयोग तथा मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान, महिला अधिकारका लागि राष्ट्रिय अभियान, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्ध जिल्ला सञ्जाल मकवानपुर र यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनको संयुक्त समन्वय र सहकार्यमा सम्मेलनको आयोजना भएको हो । कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गरी प्रतिकार्य प्रणाली मजबुत बनाउने उपायको विषयक प्यानल छलफल समेत भएको थियो । चितवन सक्रिय महिला प्रतिष्ठानकी उपाध्यक्ष दीक्षा रिमालको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, राष्ट्रिय महिला आयोगकी उपसचिव रोशनी कार्की, बागमती प्रदेश प्रहरी प्रमुख अरुण पौडेल, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुवासचन्द्र बोहरा, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायत महिला अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version