Home मुख्य समाचार मकवानपुरका ६ नेताको एमाले केन्द्रीय सदस्यमा उम्मेद्वारी

मकवानपुरका ६ नेताको एमाले केन्द्रीय सदस्यमा उम्मेद्वारी

हेटौँडा : काठमाडौंमा जारी नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा मकवानपुरबाट प्रतिनिधि भएर गएका १७ मध्ये ६ जना नेताले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । मकवानपुरबाट प्रतिनिधि बनेर गएका १७ मध्ये रामेश्वर राना, महेश बर्तौला, भारती पाठक, एकालाल श्रेष्ठ, कृष्ण दाहाल र देवकृष्ण विकले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ ।

बागमती प्रदेश सभाकी सदस्यसमेत रहनु भएकी पाठकले महिला क्लस्टरमा उम्मेद्वारी दिनुभएको हो । मकवानपुरको क्षेत्र नम्बर–२ बाट निर्वाचित संघीय सांसद महेश बर्तौलाले खुला सदस्यमा उम्मेद्वारी दिनुभएको छ भने नेकपा एमाले मकवानपुरका इन्चार्ज रानाले प्रदेश भूगोलबाट खुला सदस्य खुल्लामा उम्मेद्वारी दिनु भएको हो ।

त्यस्तै बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले आदिवासी जनजाति खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ । यी चारै नेताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्यानलबाट उम्मेद्वारी दिएका छन् । यता केन्द्रीय सदस्य कृष्ण दाहालले खुल्ला सदस्यतर्फ उम्मेद्वारी दिनु भएको छ भने देवकृष्ण विकले दलित क्लस्टरबाट उम्मेद्वारी दिनुभएको छ । यी दुई नेताले भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट उम्मेद्वारी दिनुभएको हो ।

त्यसो त यसअघि चितवनमा भएको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विरोध चुनिनु भएका रामेश्वर राना, भारती पाठक र कृष्ण दाहाल यसपटक पनि सदस्यमा नै दोहोरिने योजनामा हुनुहुन्छ । १० औँ महाधिवेशनमा सदस्यमा नेतृत्वको लिस्टमा नअटाएका बर्तौलाले यसपटक पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनु भएको हो ।

शनिबारबाट सुरु भएको महाधिवेशनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट अणराज जर्गा मगर, नवीन सिग्देल, फुर्वादोर्जे लामा, सुनिल मोक्तान, आरती पाठक, विना कुमारी थिङ, सीता विष्ट र बोलबहादुर कार्की प्रतिनिधि चयन भएर काठमाडौं पुगेका छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ बाट हिदम लामा, एकालाल श्रेष्ठ, बलराम बल, भगवती पुडासैनी, रोहण लामा, सुमित्रा काफ्ले, विदुर हुमागाईँ, गीता काफ्ले र देवकृष्ण विक सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएर महाधिवेशन प्रतिनिधि बन्नु भएको हो ।

यसैबीच नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउनु भएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि ओलीले पनि सोमबार महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि मङ्गलबार मतदान गर्ने तयारी गरिएको छ ।

Exit mobile version