Home खेलकुद सहिद स्मारक प्रिमियर लिगः फाइनलमा नवलपुर र गोल्फिन्टार भिड्ने

सहिद स्मारक प्रिमियर लिगः फाइनलमा नवलपुर र गोल्फिन्टार भिड्ने

हेटौंडाः सहिद स्मारक प्रिमियर लिगको फाइनल खेलमा नवलपुर टाइटन्स र गोल्फिन्टार किङ्स भिड्ने भएको छ । अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका यी टोलीले उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ ।
गोल्फिन्टार किङ्स लिग चरणको चारवटै खेल जितेर फाइनल प्रवेश गरेको छ भने ४ खेलमा ३ जित हात पारेका नवलपुरले अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको छ । यसैबीच, बिहीबार भएको लिग चरणको अन्तिम खेलमा हेटौंडा क्रिकेट एकेडेमीले थानाभर्याङ म्याव्रिक्सलाई ८ रनले हराएको छ । यो हेटौंडा एकेडेमीको प्रतियोगितामा पहिलो जित हो ।

हेटौंडा एकेडेमीको जितमा निश्चल रोक्का नायक बने । उनले ब्याटिङतर्फ ५६ बलको सामना गर्दा १०५ रनको शतकीय पारी खेले । यसैगरी बल्लिङतर्फ ४ ओभरमा २९ रन खर्चिएर ५ विकेट प्राप्त गरे । सुरुमा ब्याटिङ गरेको हेटौंडा एकेडेमीले १९.५ ओभरमा १७४ रनमा अलआउट भएको थियो । लक्ष्य पछ्याएको थानाभ¥याङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६६ रनमात्रै जोड्न सक्यो ।

वागेश्वरी टोल विकास संस्थाको आयोजनामा हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीको खेल मैदानमा मंसिर २० गतेदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः ५० हजार र २५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

Exit mobile version