Home मुख्य समाचार जोखिमको बेवास्ता

जोखिमको बेवास्ता

हेटौंडा बजार क्षेत्रको मुख्य सडक अहिले अस्तव्यस्त छ । गत शनिबार सडक डिभिजन हेटौंडाले सडक सीमाभित्रको घर टहरा हटाउने उद्देश्यले डोजर चलायो । राष्ट्रिय राजमार्गको रुपमा रहेको महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको हेटौंडा बजार क्षेत्रमा पर्ने सडक खण्डमा संरचना हटाउन डोजर चलाइएको थियो । डिभिजन सडकले १५ दिनको समयसीमा दिएर घर टहरा हटाउन जारी गरेको सूचनाअनुसार सम्बन्धित घरधनीले संरचना नहटाएपछि डोजर चलाइएको हो । समयसीमा सकिएकै दिन बिहान सबेरैबाट हेटौंडा बजार क्षेत्रका घर टहरा हटाउन थालियो । एक दिनमै बजार क्षेत्रका अस्थायी संरचनाहरु भत्काइयो भने ठूला भवन र स्थायी संरचनाको केही भाग कोतर्ने काम भयो । वर्षौंदेखि सडक सीमा खाली गर्न नसक्दा साँघुरो बनेको हेटौंडा बजार क्षेत्रको सडक विस्तारका लागि संरचना हटाउने काम सुरु भए पनि अदालतको आदेशसँगै आइतबारबाटै काम स्थगित हुँदा बजार क्षेत्रका भग्नावशेषले जोखिम बढाएको छ ।

डिभिजन सडकले संरचना हटाउने कामको सुरुवात गरेपछि अहिले मुख्य बजार क्षेत्रका धेरै घरधनीले आफैं घर टहरा भत्काइरहेका छन् । डिभिजन सडकले भत्काएर छाडेको संरचना र घरधनीले थप भत्काउन थालेको संरचनासमेतको भग्नावशेषले बजार क्षेत्र अस्तव्यस्त बनेको छ । ढालिएका अशोकको रुख पनि सडक पेटी तथा किनारमा असरल्लै छन् । चुँडिएका टेलिफोन, इन्टरनेट तथा टिभीका केबल जताततै लत्रिरहेका छन् । धुलोको मात्रा दिनदिनै बढिरहेको छ । सडकमा यातायात सञ्चालनमा असुविधा हुनुका फुटपाथ खाली नहुँदा पैदलयात्रीलाई समस्या भइरहेको छ । सडक किनार तथा पेटीमा भत्काइएका संरचनाका इट्टा, माटो, काठपात तथा सिमेन्टका टुक्रा थुपारिएकाले पैदलयात्री सडकबाटै हिँड्न बाध्य छन् । बुधबारदेखि बुद्धचोकको उत्तरतर्फ सडक नै बन्द गरेर घर भत्काउने काम भइरहेकाले भित्री सडकमा सवारी चाप बढेका कारण ट्राफिक व्यवस्थापन पनि जटिल बनिरहेको छ ।

सडक सीमाभित्रका संरचना भत्काउने काम सुरु गरेको भोलिपल्टबाट अदालतको आदेशपछि काम रोकिएकाले भत्किएका संरचनाहरुको भग्नावशेष व्यवस्थापन हुन सकेको छैन । बजार क्षेत्रका अधिकांश टहरा र पुराना घरहरु सम्बन्धित घरधनीले भत्काएर सफा गर्न थालेका छन् । बजार क्षेत्रको जोखिमपूर्ण संरचना हटाउन र सरसफाइ गर्न हेटौंडा उपमहानगरपालिकाले प्रयत्न गरिरहेको भए पनि पर्याप्त हुन सकेको छैन । भत्किएका संरचना व्यवस्थापनमा सम्बन्धित घरधनीमात्रै लाग्दा धेरै समय लाग्छ । ठूला भवन र पक्की संरचना भत्काउन त झनै बढी समय लाग्छ । यस्तो अवस्थामा संरचना हटाउन इच्छुकलाई उपमहानगरपालिका तथा सडक डिभिजनले उपकरण, सवारी साधन तथा जनशक्ति सहयोग गरेमा बजारको जोखिमपूर्ण अवस्था चाँडै अन्त्य हुने थियो ।

मुख्य बजार बजार पूरै भत्किएर खण्डहरजस्तो बनेको भए पनि कतिपय व्यवसायी जोखिम मोलेर व्यापार गरिरहेका छन् । व्यवसाय गरिरहेको ठाउँ भत्किएपछि तत्काल अन्य व्यवस्थापन गर्न नसक्दा सोही ठाउँमा व्यापार गर्ने बाध्यता हुनसक्ने भए पनि भग्नावशेषमा र अस्तव्यस्त फुटपाथमा व्यापार गर्दा व्यापारी र ग्राहक दुबैलाई जोखिम हुने निश्चित छ । उपमहानगरपालिकाले फुटपाथ र भत्किएको संरचनामा व्यापार नगर्न अनुरोध गरेको भए पनि व्यवसायी बेच्न बसेका छन् भने ग्राहक किन्न पुगेका छन् । उपमहानगरपालिका तथा अन्य सरोकारवाला निकायले केही दिनको लागि बजार क्षेत्र नजिकका कुनै खुला ठाउँमा दिउँसोको समयमा सामान बिक्री गर्ने व्यवस्था मिलाउन सकेमा जोखिमपूर्ण ठाउँमा जोखिमको बेवास्ता गरेर भइरहेको व्यापार रोक्न सकिन्थ्यो कि ?

Exit mobile version