Home अर्थ/व्यापार सडक विस्तारपछिको हेटौंडा : भग्नावशेष हटाउँदै स्थानीय, सवारी संचालनमा कडाइ (तस्वीरहरु)

सडक विस्तारपछिको हेटौंडा : भग्नावशेष हटाउँदै स्थानीय, सवारी संचालनमा कडाइ (तस्वीरहरु)

भत्काउँदै गरेको घरको छेवैबाट अस्तव्यस्त सडकपेटीमा हिँड्दै सर्वसाधारण ।

हेटौँडा : राष्ट्रिय राजमार्ग विस्तार अभियान अन्तर्गत सडक सीमाभित्र पर्ने घर–टहरा भत्काइएपछि हेटौँडा बजार अस्तव्यस्त छ । सडक किनार तथा पेटीमा घर भत्काइएका इट्टा तथा सिमेन्टका टुक्रा थुपारिएको छ भने आम सर्वसाधारणहरु सडकबाटै हिँड्न बाध्य छन् ।

बुद्धचोकदेखि उत्तरतर्फ बाटो नै बन्द गरेर भत्किएका घरको व्यवस्थापन गरिँदै ।

एकातिर भत्किएका संरचनाहरुको भग्नावशेष व्यवस्थापन हुन सकेको छैन भने अर्को तर्फ सवारी आवागमनमा समेत असहजता देखिएको छ । यद्यपी हेटौँडा बजार क्षेत्रको भत्किएका संरचना व्यवस्थापनमा स्थानीयहरु लागी परेका छन् । हेटौँडाको मेनरोडदेखि राप्तीरोड तथा कृष्णमन्दिर क्षेत्रका स्थानीयहरु भत्किएका घर व्यवस्थापनमा जुटेका हुन् ।

हेटौँडा बजार क्षेत्रमा थुप्रिएको फोहोर ।

मुख्य बजार क्षेत्रम सवारी आवागमनमा रोकेर भत्किएका संरचनाहरु हटाउन स्थानीयहरु सक्रिय देखिन्छन् । उक्त कार्यमा सघाउन सडक विस्तार र निर्माण कार्यलाई सहज बनाउन तथा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बजार क्षेत्रमा सवारी साधन सञ्चालनमा कडाइ गरेको छ । बुधबारदेखि हेटौँडाको मुख्य बजार क्षेत्रको बुद्धचोकदेखि चौकीटोल ओरालोसम्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सवारी साधन आवागमनमा रोक लगाइएको छ । निर्माण कार्य छिटो सक्न मद्दत पुग्ने अपेक्षा सहित सवारी डाइभर्ट गरेर संरचना हटाउने काम भइरहेको हो ।

हेटौँडा बजार क्षेत्रमा थुप्रिएको फोहोर व्यवस्थापन गर्दै हेटौँडा उपमहानगरका सरसफाई कर्मचारी ।

गत २० गते सडक डिभिजन कार्यालय र उपमहानगरपालिकाले डोजर लगाएर सडक सीमा मिचेर बनाइएका घर तथा टहराहरु भत्काएको थियो भने डोजरले संरचना भत्काएपछि यतिबेला घरधनीहरू आफैंले पनि भग्नावशेष हटाउने काम थालेका हुन् । बजार क्षेत्रलाई कुरुप र दुर्गन्धित हुन नदिन हेटौँडा उपमहानगरपालिकाले पनि सक्रियता देखाएको छ । उपमहानगरले सडकमा थुप्रिएका फोहोर र भग्नावशेष संकलन कार्यलाई तिव्रता दिएको छ भने डोजर र ट्रिपरको प्रयोग गरी सडक सफा गर्ने काम भइरहेको छ ।

Exit mobile version