हेटौँडा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले हेटौँडामा आयोजना गर्ने भनिएको प्रदेशस्तरीय सभा स्थगित भएको छ । हेटौँडा बजार क्षेत्रको सडक विस्तारको तयारी भइहरँदा नेकपाले हेटौँडा सभा स्थगित गरिएको एक नेताले जानकारी दिए । हेटौँडा–४, हुप्रचौरमा प्रादेशिक सभा गर्ने योजना बनाएको नेकपाले मंगलबार प्रादेशिक सभा स्थगित गर्ने निर्णय गरेको हो ।
साविक नेकपा माओवादी केन्द्रका मकवानपुर इन्चार्ज विजय गौतमले सडक विस्तारको समयमा बल प्रयोग हुन सक्ने र एउटा वर्ग समस्यामा रहीरहँदा सभा गर्नु उचित नभएको ठहर गरी स्थगित गरिएको जानकारी दिनुभयो । साविक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभिन्न समूहको सहभागितामा नेपाल कम्युनिष्ट पार्टी गठन गरिएको हो । नेकपाले जिल्लामा एकीकृत भएका दलका नेता, कार्यकर्ताहरुको सहभागितामा २५ गते एकीकृत भेला गर्ने जनाएको छ । यस्तै मंसिर २९ गते पालिकास्तरीय भेला गरिनेछ । बुधबार नेकपाको हेटौँडा–५, गर्दोईस्थित पार्टी कार्यालयमा बैठक बसेको थियो ।
