Home मुख्य समाचार कन्टेनरमा मोटरसाइकल ठोक्किँदा बालकृष्णको मृत्यु

कन्टेनरमा मोटरसाइकल ठोक्किँदा बालकृष्णको मृत्यु

हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९, बस्तिपुरमा रोकिराखेको कन्टेनरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार राती ११ बजेर ४० मिनेटको समयमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ३५८७ नम्बरको सडकमै बिग्रिएर रोकिएको कन्टेनरमा सोही दिशाबाट आउँदै गरेको बा ४९ प ६६५८ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२, गैरीभञ्ज्याङका ३० वर्षीय बालकृष्ण अधिकारी र पछाडी सवार लमजुङ जिल्लाको बेसीसहर नगरपालिका–१०, पासाचौरका ४८ वर्षीय भवरजंग गुरुङ घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका चालक बालकृष्णलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा मंगलबार राति १२ बजेर १० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । पछाडी सवार भवरजंगको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचारमा भइरहेको छ । कन्टेनर चालक पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२ का २४ वर्षीय राजवली रामलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version