जवरजस्ती व्यवसाय बन्द गराउँदै
हेटौँडा : पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा बजार क्षेत्रमा सडक विस्तार गर्ने सरकारी तयारीको विरोधमा स्थानीय घरधनीहरु आन्दोलित भएका छन् । सडक सीमा भित्र पर्ने घरहरु भत्काउने सूचनाको विरोध गर्दै आक्रोशित स्थानीयहरुले मंगलबार बिहानैदेखि हेटौंडाको मुख्य बजार क्षेत्रमा प्रदर्शन सुरु गरेका हुन् ।
सरकारले राजमार्गको केन्द्रविन्दुबाट दायाँ–बायाँ २५/२५ मिटर (हाल २५/२५ गज) सडक विस्तार गर्ने योजना अघि सारेपछि हेटौँडाका बासिन्दाहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले मुआब्जाको माग गर्दै सडक विस्तारको विरोधमा उत्रिएका हुन् । उनीहरुले ‘नागरिकलाई उठिबास लगाउन पाइँदैन’, “बिना विकल्प डोजर आतंक बन्द गर’, ‘व्यवसायीको उचित व्यवस्थापन गर’ जस्ता नारा लगाइरहेका थिए ।

बजार क्षेत्रमा २५ गज सडक विस्तार गर्दा सयौं घरहरु भत्किने र नागरिक सुकुम्बासी हुने भन्दै संविधानले प्रदत्त गरेको सम्पत्ती सम्बन्धी अधिकार सुनिश्चिताको माग गरेका छन् । उनीहरुले बजार क्षेत्रमा सडकको चौडाइ १६ मिटर मात्र कायम गरिनुपर्ने वा विकल्पमा ‘बाइपास’ सडक प्रयोग गर्नुपर्ने माग राख्दै आएका छन् भने भत्काइने संरचनाको उचित मुआब्जा र क्षतिपूर्तिको ग्यारेन्टी नभएसम्म डोजर चलाउन नदिने अडान राखेका छन् ।
सडकमा उत्रिएका घरधनी तथा व्यवसायीहरुले हेटौंडाका मुख्य राजमार्गमा नाराबाजी गर्दै जवरजस्ती पसल तथा व्यवसायहरु बन्द गराउँदै हिँडेका हुन् । बिहान केही समय खुलेका पसलहरुलाई पनि आन्दोलनकारीको समूहले सटर झार्न लगाएपछि अहिले मुख्य बजार क्षेत्र पूर्ण रुपमा ठप्प बनेको छ ।
उनीहरुले अनिश्चिताकालका लागि व्यवसाय बन्द गर्न भन्दै बजार क्षेत्रका पसलहरु बन्द गर्न भनेका छन् । हेटौंडाको बुद्ध चोक, सीमा चोक, बैंक रोड लगायतका क्षेत्रमा प्रदर्शनकारीहरुले र्याली निकालेका थिए ।
प्रर्दशनका क्रममा तनाव बढ्न नदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । स्थानीय प्रशासनले शान्तिपूर्ण विरोध गर्न पाइने भए पनि जबरजस्ती बन्द गराउनु र नागरिकको दैनिक जीवनमा अवरोध पुर्याउनु गैरकानुनी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो ।
उहाँले जबरजस्ती पसल बन्द गराउँदै हिँड्ने समूहलाई कारबाही गर्ने चेतावनी समेत दिनुभयो । आन्दोलनको नामामा अराजकता मच्याउने, अरुको अधिकार हनन् गर्ने क्रियाकलाप गर्ने विरुद्ध प्रशासन अब मूकदर्शक भएर नबस्ने सिडिओ अधिकारीको भनाई छ । बजार व्यवस्थापनको सन्दर्भमा व्यापारीहरु (व्यवसायी) र घरबेटी गरी दुई पक्ष देखिएका छन् । प्रशासनले २० गतेसम्मको समयसीमा (टार्गेट) राखेको भए पनि केही घरबेटीहरुले व्यापारीलाई अनावश्यक दबाब दिइरहेको उहाँले बताउनुभयो । जबरजस्ती बन्द गराउने र धम्की दिने समूहको निगरानी गर्न प्रशासनले सादा पोसाक (सिभिल ड्रेस) मा प्रहरी टोली परिचालन गरेको उहाँले बताउनुभयो ।
‘आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार कुण्ठित गर्न पाइँदैन । आन्दोलन गर्न पाइन्छ । तर, अरुलाई हसर पर्नस भएन । जबरजस्ती पसल बन्द गराउने कार्यलाई हामीले निगरानीमा राखेका छौं । प्रशासन टुलुटुलु हेरेर बस्दैन ।’ उहाँले भन्नुभयो, ‘हाम्रो टोली फिल्डमै छ । उनीहरुले फोटो खिच्ने र प्रमाण संकलन गर्ने काम गरिरहेका छन् । कानुन हातमा लिन खोज्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउँछौं । व्यापारीहरु सर्नका लागि एक हिसाबले तयार भइसकेका छन् । नारायणी मलमा २०० भन्दा बढी सटरहरु बुक भइसकेका छन् । तर केही घरबेटीहरुले अनावश्यक रुपमा दबाब सिर्जना गरिरहेका छन् ।’