सडक विस्तारको चर्चाले अहिले हेटौंडा बजार तरङ्गित भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले अघिल्लो शुक्रबार १५ दिनको म्याद दिएर सडक सीमाभित्रका अस्थायी स्थायी संरचना हटाउन सार्वजनिक सूचना जारी गरेपछि सडक विस्तारको बारेमा चर्चा चुलिएको हो । महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको रातोमाटे–बुद्धचोक सडक खण्ड, महेन्द्र राजमार्गको बुद्धचोक–राप्तीपुल सडक खण्ड र त्रिभुवन राजपथको बुद्धचोक–सामरीपुल सडक खण्डमा सडक सीमाभित्रका संरचना हटाएर सडक विस्तारलाई सहज बनाउने तयारीमा सडक डिभिजनले आवश्यक सबै तयारी पूरा गरिसकेको छ । स्थानीय प्रशासनसँगै अन्य सरोकारवाला सरकारी निकाय र संघसंस्थाको समन्वयनमा सडक विस्तार अभियान तिब्र बनिरहेको छ
यस पटक सडक विस्तारले सार्थकता पाउने सम्भावना बढ्दै गएको अवस्थामा यसले हेटौंडा बजार क्षेत्रमा विभिन्न प्रभाव देखिएको छ । पुस्तौंदेखि घर बनाएर बसिरहेकाहरुको घरजग्गा राजमार्गको क्षेत्राधिकारभित्र पर्ने भएपछि घर भत्कनेमात्र नभई कतिपयको उठिबास हुने चिन्ता बढेको छ । करोडौं मूल्यका जग्गा गुमाउनुपर्ने अर्को पीडा जग्गाधनीलाई छ । सडक सीमाभित्रको घर टहरामा व्यवसाय गरिरहेका व्यवसायीलाई आफ्नो व्यवसायको चिन्ता छ । भन्नेवित्तिकै पसल, व्यवसाय स्थानान्तरण सजिलो छैन । नयाँ ठाउँमा व्यवसाय सार्दा पहिलेजत्ति व्यापार हुने हो वा होइन भन्ने अर्को चिन्ता पनि छ । सडक विस्तारको क्रममा भएको घर भत्किएपछि जग्गा बाँकी भएमा कसरी र कस्तो घर बनाउने भन्ने अन्योल पनि उस्तै छ । दशकौंदेखि राजनीतिक दल र व्यावसायिक संस्था गुहार्न, सरकारसँग लविङ गर्न, मुद्दा मामिलाका लागि गरेको खर्च बेकार हुने चिन्ता पनि कतिपयलाई परेको छ ।
बजार क्षेत्रको घर भत्कने सम्भावना बढ्दै गएपछि अहिले हेटौंडा बजारमा अर्को रमिता देखिएको छ । फर्निचर, जुत्ता, ब्याग, कपडा तथा अन्य व्यवसायीले ‘सेल’को नाममा बजारमा अर्को तमाशा देखाइरहेका छन् । बजार भत्कने भएपछि सस्तोमा सामान बिक्री गर्न लागेको भन्दै सामाजिक सञ्जालबाट प्रचारप्रसार भइरहेको छ । कतिपय व्यवसायीले पसलबाटै माइकिङ गरेर सामान ‘सेल’ गरिरहेका छन् । बजारको सीमाचोकदेखि दक्षिणतर्फका अधिकांश फर्निचर व्यवसायीले अहिले आफ्नो सोरुम भताभुङ्ग पारेका छन् । पसल अगाडि सामान ल्याउने र लैजाने साना गाडी तथा ठेलाको लर्को देखिन्छ । अधिकांश व्यवसायीको मुख्य बजारभन्दा बाहिर अर्को पसल, सोरुम, गोदाम तथा फर्निचर उद्योग भए पनि उनीहरु ग्राहकको भिड लागेको मौका छोपेर थप सामान ल्याउँदै ‘सेल’ गरिरहेका छन् । अझै केही दिन हेटौंडामा ‘सेल’ बजार फस्टाउने सम्भावना छ ।
हेटौंडा बजार भनेको मकवानपुर उद्योग वाणिज्य संघदेखि बाइपास मोडसम्म र कान्तिलोकपथ र राप्तीरोडसम्मको करिब एक–एक किलोमिटर नै हो । सडक विस्तारका लागि बजार भत्किने भयो भने यो हेटौंडा बजार कस्तो होला ? बजारका व्यवसाय कहाँ पुग्ला ? व्यवसायी कहाँ जालान् ? मुख्य बजार क्षेत्रमा नयाँ संरचना बनेर बजार बस्न कति समय लाग्ला ? राजमार्ग विस्तार भएपछि मुख्य बजार पुरानै ठाउँमा आउला वा भित्री सडकका बजारले स्थायित्व पाउला ? अहिले नै भन्न सकिने अवस्था छैन । हेटौंडा बजारको मुख्य राजमार्गको दायाँ–बायाँका संरचना भत्कियो भने केही महिना हेटौंडा बजार गन्जागोल हुने निश्चित छ । बजार जाने भनेर सिधै मेनरोड र राप्तीरोड पुग्ने ग्राहक पनि अलमलमा पर्ने देखिन्छ ।
