Home मुख्य समाचार बागमती प्रदेश सभा सदस्य आले मगर १० दिनदेखि अस्पतालमा

बागमती प्रदेश सभा सदस्य आले मगर १० दिनदेखि अस्पतालमा

हेटौँडा : बागमती प्रदेश सभा सदस्य रमा आले मगरको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । १० दिनदेखि उपचाररत पूर्व मन्त्री समेत रहनुभएकी आले मगरको अवस्था दिन–प्रतिदिन कमजेर बन्दै गएको बताइएको छ ।

लामो समयदेखि पेट सम्बन्धी समस्या रहेको उहाँलाई पछि अल्सर र हाल कलेजो सम्बन्धी समस्या भई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको उहाँका भाइ राम आले मगरले जानकारी दिनुभएको छ । प्रदेश सभा सदस्य रमा आले मगरको अहिले आइसियूमा राखेर उपचार भइरहेको रामको भनाइ छ । उहाँको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको रामले बताउनुभयो । उपचारमा संलग्न चिकित्सकहरुले आलेमगरको थप उपचारका लागि बाहिर (विदेश) लैजान सुझाव दिएको रामको भनाई छ ।

आर्थिक अभावका कारण उहाँको उपचारमा समेत समस्या भइरहेको र सहयोग उठाउन थालिएको छ । उहाँको उपचारमा सहयोग गर्न निरन्तर खटिइरहेका प्रकाश खड्काले सामाजिक सञ्जालमा प्रदेश सभा सदस्य आले मगरको फोटो र बैंक क्युआर सेयर गर्दै थप उपचारका लागि सहयोग गर्न अनुरोध गर्नुभएको छ । आले मगर बागमती प्रदेशकी एक सक्रिय र जुझारु राजनीतिज्ञका रुपमा चिनिनु हुन्छ । । उहाँ २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बाट काठमाडौं क्षेत्र नम्बर १० (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

यसअघि उहाँले बागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नु भएको थियो । उहाँले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उहाँलाई २०८० चैत १९ गते मन्त्री नियुक्त गर्नुभएको थियो भने उहाँले चैत २० गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । हाल उहाँ नवगठित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा प्रस्तावित हुनुभएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ स्थायी ठेगाना भएकी आलेमगरले स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्नुभएको छ ।

Exit mobile version