भ्रष्टाचारले देश थिलोथिलो बनेको सबैलाई ज्ञात छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले हरेक वर्ष सार्वजनिक गर्दै आएको प्रतिवेदनका आधारमा नेपाल भ्रष्टाचार धेरै हुने देशको सूचीमा पर्दै आएको छ । भ्रष्टाचारको छानविन गर्ने राज्यको संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने गरेको उजुरीको संख्याले पनि मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको देखिन्छ । देशका प्रमुख शासक, प्रशासकले भ्रष्टाचारको विरुद्धमा आवाज बुलन्द गर्ने गरेको भए पनि सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गर्न सरकार निष्प्रभावी भइरहेको छ । आम नेपालीले सरकारी कामकाज तथा अन्य क्षेत्रमा भोग्दै आएका असुविधा, ढिलासुस्ती, कमिशन, अनुचित लेनदेनले भ्रष्टाचारलाई छर्लङ्ग पारिरहेको छ । गत भदौ २३ गतेको जेनजी आन्दोलनको मुख्य उद्देश्य पनि भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सरकारलाई दबाब दिनु थियो ।
जेनजी आन्दोलन व्यवस्था परिवर्तनका लागि नभई सुशासन र पारदर्शिताका लागि भएको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वीकार गरेका छन् । भक्तपुरका नगरकोटमा भएको नेपाली कांग्रेस बागमती प्रदेश समिति र कांग्रेस बागमती प्रदेश संसदीय दलको २ दिने संयुक्त बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले जेनजीले व्यवस्था परिवर्तनका लागि नभई सुशासन र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि आवाज उठाएको बताएका हुन् । युवाहरुको प्रदर्शनलाई ‘आन्दोलन’ नभई भ्रष्टाचारविरुद्धको ‘माग र प्रदर्शन’का रुपमा लिनुपर्ने उनले बताएका छन् । जेनजी पुस्ताका मागहरुलाई बागमती प्रदेश सरकारले गम्भीररूपमा लिएको र सम्बोधन गर्न ठोस कदम चालिसकेको उनको भनाइ छ । भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासन व्यवस्था चल्नुप¥यो भन्दै युवाहरुले प्रदर्शन गरेको भए पनि प्रदर्शनपछि भएको घुसपैठका कारण जनधनको क्षति भएको मुख्यमन्त्री बानियाँको जिकिर छ ।
बागमती प्रदेश सरकार ‘गरिबमुखी, आयमुखी, न्यायमुखी र विकासमुखी’ लक्ष्यका साथ अघि बढेको दावी गरेका मुख्यमन्त्री बानियाँको बोलीमा सुशासन र पारदर्शिताप्रति प्रतिबद्धता देखिन्छ । हुन त सरकारको नेतृत्व गरेका सबैले सुशासन, पारदर्शिताको पक्षमा बोल्ने गर्दछन् । भ्रष्टाचारको विरोध गरेर नथाक्ने अधिकांश कि आफैं भ्रष्टाचारमा संलग्न हुने गरेका छन्, कि भ्रष्टाचारीलाई संरक्षण गरिरहेका हुन्छन् । राजनीतिक नेतृत्वले नै सरकारको नेतृत्व गर्ने हो । भ्रष्टाचारको जरा पनि राजनीति क्षेत्रमै जकडिएको पाइन्छ । राजनीतिको आडमा मौलाइरहेको दण्डहिनता नै भ्रष्टाचारको मुख्य जड बनिरहेको छ । राजनीतिक दलमा आवद्ध हुने, दल र नेताको स्वार्थ पूरा गरिदिने अनि भ्रष्टाचार गर्ने र उन्मुक्ति पाउने परिपाटीको अन्त्य नभएसम्म सुशासनको आशा गर्न सकिँदैन ।
मुलुकमा सुशासन र पारदर्शिताको कमी र बढ्दो दण्डहिनताले नै भ्रष्टाचार मौलाएको हो । मुख्यमन्त्री बानियाँलगायत सरकारको नेतृत्व गर्नेले सुशासन र पारदर्शिताको पक्षमा जति राम्रा कुरा गरे पनि व्यवहारमा लागू नहुँदासम्म भ्रष्टाचार रोकिँदैन । सुशासनको पक्षमा भाषण गर्नु भन्दा यसको नियन्त्रण कसरी गर्ने भन्ने कुरा मुख्यमन्त्री बानियाँको प्राथमिकतामा पर्नु जरुरी छ । सुशासनको पक्षमा आवाज उठाउनुपर्ने राजनीतिक नेतृत्व भ्रष्टाचारमा लिप्त हुने अवस्था रहँदासम्म देशमा भ्रष्टाचार रोकिने सम्भावना छैन । जेनजीमात्र होइन, आम नेपालीले सुशासन र पारदर्शिता खोजिरहेको यथार्थ मुख्यमन्त्री बानियाँले बुझ्न र व्यवहारमै सुशासनको प्रत्याभूति दिन आवश्यक छ ।
