Home मुख्य समाचार जनस्वास्थ्य कार्यालय मकवानपुरको बार्षिक प्रगति समीक्षा

जनस्वास्थ्य कार्यालय मकवानपुरको बार्षिक प्रगति समीक्षा

जनस्वास्थ्य कार्यालय मकवानपुरको बार्षिक प्रगति समीक्षा तथा सम्मानपछि खिचिएको समूहिक तस्वीर ।

हेटौँडा : जनस्वास्थ्य कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा सम्पन्न गरेका कार्यहरूको प्रगति समीक्षा गरेको छ । सोमबार र मंगलबार भएको कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला जनस्वास्थ्य कार्यालयबाट भएका कार्यक्रम तथा प्रगतिबारे समीक्षा गरिएको हो ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहले गत आर्थिक वर्षमा सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी गतिविधिहरूको प्रस्तुति गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै घलानले आम नागरिक पनि जिम्मेवार हुनुपर्ने बताउँदै स्वास्थ्यकर्मीमाथि आक्रोश प्रकट गर्नुको सट्टा उनीहरूको मनोबल बढाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समिति प्रमुख घलानले करोडौँ लगानीमा स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पताल सञ्चालनमा आउन नसक्नु दुःखद भएको उल्लेख गर्दै अस्पताल सञ्चालनमा स्थानीय तहलाई समस्या परेको बताउनुभयो ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले जिल्लाका १० वटै स्थानीय तहमा आयुर्वेद तथा वैकल्पिक सेवा केन्द्र विस्तारको क्रममा रहेको जानकारी दिनुभयो । कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले गत आर्थिक वर्षमा स्वास्थ्य कार्यालयले सम्पन्न गरेका कार्यहरू, उपलब्धीहरू र जिल्लाको समग्र स्वास्थ्य अवस्थाबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

समीक्षा कार्यक्रममा स्वास्थ्य सेवामा उत्कृष्ट भई जिल्लामा पहिलो हुन सफल बागमती गाउँपालिका, द्वितीय भएको थाहा नगरपालिका र तृतीय भएको मकवानपुरगढी गाउँपालिकालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । यसैगरी, स्वास्थ्य सेवामा नवीनतम कार्यको सुरुवात गरेकोमा सबै पालिकाहरुलाई समेत सम्मान गरिएको थियो ।

समीक्षा कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईं, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

Exit mobile version