हेटौँडा : बारा जिल्लाको नव जनजागृति युवा क्लब र सुर्खेत जिल्लाको काक्रेविहार युथ क्लब एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार नव जनजागृति युवा क्लबले तनहुँको हैरान्स क्लबलाई ७–२ गोलअन्तरले र काँक्रेविहार युथ क्लबले उदयपुरको गाईघाट फुटबल क्लबलाई ५–३ गोलअन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यी दुई टोलीले लिग चरणको ४ वटा खेलमध्ये ३÷३ खेल जितेर समान ७÷७ अंकसहित प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेसँगै यहि वर्ष हुने राष्ट्रिय लिगमा पनि छनोट भएको छ ।
शुक्रबार भएको पहिलो खेलमा सुजन डंगोलको ह्याट्रिक गोलसँगै नव जनजागृति युवा क्लबले लिग चरणको आफ्नो अन्तिम खेलमा फराकिलो अन्तरले जित निकालेको छ । नव जनजागृतिका सुजन डंगोलले खेलको ५६औँ, ५८औँ र ६०औं मिनेटमा गोल गरेका हुन् । यस्तै प्रताप सिंहले खेलको १४औँ, अविनाश स्याङ्तानले ५१औँ र कृप्कान्त महतो थारूले ९०औँ मिनेटमा गोल गरे । हैरान्स क्लबका विजय दोङले खेलको ४०औँ र स्यामुयल सुनारले ६२ मिनेटमा १/१ गोल गरे भने खेलको २८औँ मिनेटमा हैरान्स क्लबका सुजन खत्रीले आफ्नै पोष्टमा गोल गरेका थिए । प्लेयर अफ द म्याच बनेका नव जनजागृति युवा क्लबका सुजन डंगोलले ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
यस्तै दोस्रो खेलमा काँक्रेविहार युथ क्लबको तर्फबाट खेलको १७औँ मिनेटमा क्याप्टेन अशिष चापागाई र ५३औँ मिनेटमा गणेश पुलामी मगरले समान १/१ गोल र खेलको ६९औँ, ८९औँ र ९० मिनेटमा अनिश घर्ती क्षेत्रीले ह्याट्रिक गरे । खेलको पहिलो हाफमा १ गोल गरेको गाईघाट फुटबल क्लब दोस्रो हाफमा पनि १ गोल मात्रै फर्काउन सक्यो । गाईघाट फुटबल क्लबको तर्फबाट दिवस श्रेष्ठले १४औँ मिनेटमा र पबिन राईले २९औँ र ८१औँ मिनेटमा दुई गोल गरेका थिए । प्लेयर अफ द म्याच बनेका काँक्रेविहारका गणेश पुलामी मगरले ५ रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । यी दुई टोलीसँगै समूह ‘बी’ मा हैरान्स क्लब, दोलखाको टाइगर्स टिम टिकाताल र उदयपुरका गाईघाट फुटबल क्लब प्रतियोगिताबाट बाहिरिएको छ । हैरान्स क्लब र टाइगर्स टिमले लिग चरणका ४ खेलमध्ये १/१ मात्रै जित निकाल्न सके भने गाईघाट फुटबल क्लब जितविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको सेमिफाइनल खेल आईतबार र फाईनल खेल सोमबार हुनेछ । उपाधि विजेता टोलीले १० लाख र उपविजेता टोलीले ५ लाखसहित ट्रफी प्राप्त गर्नेछ ।
