Home मुख्य समाचार सुशासन र पारदर्शिताका लागि जेन जी आन्दोलन : मुख्यमन्त्री बानियाँ

सुशासन र पारदर्शिताका लागि जेन जी आन्दोलन : मुख्यमन्त्री बानियाँ

बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँ ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेन जी आन्दोलन व्यवस्था परिवर्तनका लागि नभई सुशासन र पारदर्शिताका लागि भएको बताउनुभएको छ । उहाँले युवा पुस्ता (जेन जी) ले व्यवस्था परिवर्तनका लागि नभई सुशासन र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि आवाज उठाएको बताउनुभएको हो ।

भक्तपुरको नगरकोटमा सुरु भएको नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र कांग्रेस बागमती प्रदेश संसदीय दलको २ दिने संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले हालै भएको युवाहरुको प्रदर्शनलाई ‘आन्दोलन’ नभई भ्रष्टाचारविरुद्धको ‘माग र प्रदर्शन’का रुपमा लिनुपर्ने बताउनुभएको हो । जेन जी पुस्ताका मागहरुलाई बागमती प्रदेश सरकारले गम्भीर रूपमा लिएको र सम्बोधन गर्न ठोस कदम चालिसकेको उहाँको भनाई छ ।

‘धेरैले जेन जी प्रदर्शनलाई आन्दोलन भन्छन् । म यसलाई आन्दोलन भन्दिनँ’, मुख्यमन्त्री बानियाँले भन्नुभयो, ‘यी युवाहरुको सुशासनको माग थियो । भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासन व्यवस्था चल्नुप¥यो भन्ने युवाहरुको माग थियो । उक्त प्रदर्शनमा पछि घुसपैठ भयो र धनजनको क्षति भयो ।’ उहाँका अनुसार आइतबार बागमती प्रदेश सरकारले जेनजी पुस्ताका अगुवाहरू (मिराज ढुंगाना, पुरुषोत्तम यादव लगायत) र विभिन्न प्रदेशका पूर्वमुख्यमन्त्रीहरुलाई एकै ठाउँमा राखेर ‘संघीयताका चुनौती र अवसर’ विषयमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने तयारी छ ।

बागमती सरकार ‘गरिबमुखी, आयमुखी, न्यायमुखी र विकासमुखी’ लक्ष्यका साथ अघि बढेको उहाँले बताउनुभयो । गरिब तथा सीमान्तकृत समुदायका छोराछोरीलाई डाक्टर र नर्स पढाउने जिम्मा सरकारले लिएको उहाँले दावी गर्नुभयो । घरबारविहीन एक हजार गरिब परिवारलाई घर बनाउन र गरिखान २ लाख रुपैयाँसम्म दिने कार्यक्रम अघि बढाएको उहाँको भनाई छ ।

Exit mobile version