हेटौंडा : विश्वकै सबभन्दा विषालु सर्प किङ कोब्रा हेटौंडा आसपासमा भेटिने क्रम बढेको छ । सर्प उद्दार क्षेत्रमा सक्रिय रहँदै आएका मकवानपुरका राजेश गरिब र रोशन दीपले आफूहरुले एक वर्षको अवधिमा हेटौंडालगायत आसपासको क्षेत्रबाट ७ पटक किङ कोब्राको उद्दार गरेको जानकारी दिएका छन् ।
केहि दिन अघिमात्रै हेटौंडा–१६, हटियास्थित रङ्गशाला नजिकैको एक घरबाट किङ कोब्राको उद्दार गरिएको थियो । पछिल्लो एक वर्षमा हेटौंडाको ९,१० र १९ नम्बर वडाबाट १-१ वटा र हेटौंडा–१६ बाट २ वटा किङ कोब्राको उद्दार गरिएको छ । यस्तै, मकवानपुरगढी गाउँपालिका र बागमती गाउँपालिकाबाट पनि किङ कोब्रा सर्प उद्दार गरेको बताइएको छ । पछिल्लो दुई महिनाको अवधिमा मात्रै हेटौंडाको २ स्थान ३ पटक किङ कोब्रा भेटिएको रोशनको भनाइ छ ।
संसारकै सबैभन्दा लामो विषालु सर्प किङ कोब्रालाई राजगोमन पनि भनिन्छ । यसको वैज्ञानिक नाम ओफियोफेगस हाना हो । मुख्यतः दक्षिण तथा दक्षिण–पूर्वी एसियाका घना जंगलहरूमा पाइने यो सर्पले अरु सर्पहरुलाई खान्छ । यो करिब १८ फिटसम्म लामो हुने गर्दछ ।
हेटौंडा आसपासको क्षेत्रमा किङ कोब्रासँगै मोनोस्लेड कोब्रा, स्पेटिकल कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रिन पिट भाइपर, रेडनेक किलव्याकजस्ता विषालु सर्पहरु भेटिने गरेको छ । त्यस्तैगरि हल्का विषालु सर्पहरुमा फ्रोस्टेन क्याट स्नेक, अर्नेट फ्र्लाइङ स्नेक, कमन क्याट स्नेक भेटिने गरेका छन् । केहि अविषालु सर्पहरु जस्तैः कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, बफस्ट्रीप्ड किलव्याक, चेकर्ड किलव्याक स्नेक, र्याट स्नेक, ब्रोन्जव्याक ट्रि स्नेक पनि भेटिने गरेका छन् ।
विषालु वा अविषालु जुनसुकै सर्प भए पनि मार्ने होइन, उद्दार गरी जंगलमा फिर्ता पठाउने संस्कृतिको विकास हुनुपर्ने आवश्यक रहेको सर्पविज्ञहरुको भनाइ छ । सर्पले पारिस्थितिक प्रणालीमा सन्तुलन कायम गर्न ठूलो भूमिका खेलेका हुन्छन् ।
