Home मुख्य समाचार जनसेवक सहकारीको वार्षिक साधारणसभा सम्पन्न

जनसेवक सहकारीको वार्षिक साधारणसभा सम्पन्न

हेटौंडाः जनसेवक कर्मचारी उपभोक्त सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंडा–४ स्थित हेटौंडा पार्टी प्यालेसमा संस्थाका अध्यक्ष बसन्तराज गौतमको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

२८९ महिला र ५४० पुरुष गरी ८ सय २९ सदस्य संख्या रहेको सहकारीको शेयर पुँजी १ करोड २० लाख १० हजार रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा कुल ५ करोड ६२ लाख ४२ हजार ४ सय ९९ रुपैयाँ ऋण लगानी गरेको छ । सदस्यहरुले जम्मा गरेको कुल बचत निक्षेप ५ करोड ७ लाख ७ सय ५६ रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८ दशमलव ९३ प्रतिशतले बढी छ ।

कुल बचत निक्षेपको तुलनामा संस्थाको तरलता अनुपात ३८ दशमलव ४९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा कुल आम्दानी ४४ लाख ४५ हजार ३ सय २५ रुपैयाँ ८० पैसा र १७ लाख ५ हजार १ सय ५७ रुपैयाँ ७६ पैसा खर्च हुँदा संस्थालाई २७ लाख ४० हजार १ सय ६८ रुपैयाँ ४ पैसा मुनाफा भएको छ । गत वर्ष संस्थाका दुई शेयर सदस्यहरुको परिवारको मृत्यु संस्कारका लागि ३० हजार रुपैयाँ सहयोग गरेको थियो ।

संस्थाले विभिन्न बचत शीर्षकमा दिँदै आएको ब्याजदर आगामी मंसिर १ गतेदेखि लागू हुनेगरी परिमार्जन गरेको छ । सहकारीले अब मासिक बचतमा ७ प्रतिशतबाट घटाएर ६ प्रतिशत, बाल बचतमा ८ प्रतिशतबाट ७ प्रतिशत, साधारण बचतमा ६ प्रतिशतबाट घटाएर ४ प्रतिशत ब्याजदर कायम गरेको छ । यसैगरी, आवधिक बचततर्फ १ वर्षे आवधिक बचतमा ९ प्रतिशतबाट घटाएर ६ प्रतिशत, २ वर्षेमा ९ दशमलव ५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र ३ वर्षेमा १० प्रतिशतबाट घटाएर ८ प्रतिशत दिने निर्णय गरेको छ ।

ऋण लगानीतर्फ पनि संस्थाले ब्याजदर परिमार्जन गरेको छ । १२ प्रतिशत ब्याजदरमा दिँदै आएको घरायसी र धन जमानी ऋण अब ११ प्रतिशत ब्यादरमा दिइनेछ । ११ प्रतिशत ब्याजदरमा दिँदै आएको बचत सापटी ऋण अब १० प्रतिशत ब्याजदरमा दिनेछ ।

संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा शेयर सदस्य ९ सय ३० जना र शेयर पुँजी १ करोड २९ लाख पुर्‍याउने लक्ष्य राखेको छ । कार्यक्रममा असल बचतकर्तातर्फ पटकबहादुर थापा, जेष्ठ सदस्यतर्फ कृष्णहरिप्रसाद घिमिरे, असल ऋणतर्फ कृष्णप्रसाद प्रसाईलगायत शेयर सदस्य र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य प्रल्हाद लामिछानेसहित शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version