हेटौंडा : नवसर्जक साहित्य चौतारी नेपाल मकवानपुरले प्रभास घिमिरेको स्मृतिमा अक्षय कोष स्थापना तथा स्मृति ग्रन्थ लोकार्पण गरेको छ । शुक्रबार हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा अक्षयकोष स्थापना एवम् स्मृति ग्रन्थ लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।
२०८१ कात्तिक २१ गते अध्ययनका लागि बनारस जाने क्रममा सवारी दुर्घटनामा परी असामयिक निधन भएका प्रभास घिमिरेको स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो । वि.सं. २०६० कात्तिक ३० गते पिता बृहस्पति घिमिरे र माता पार्वती घिमिरेको पहिलो सन्तानका रूपमा जन्मेका प्रभास बाल्यकालदेखि नै देवीदेवताप्रति विशेष लगाव राख्दथे । हटियाको लक्ष्मी प्राथमिक विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेपछि प्रभासले देवघाटधामस्थित श्री महेश सन्यास आश्रमबाट आध्यात्मिक अध्ययन सुरु गरेका थिए ।
तीन वर्षको कलिलै उमेरमा मृगौलामा पत्थरीको समस्या भोगेका प्रभासले देवी प्रतिभाको आश्रममा बसी भागवत अध्ययन गर्दै थिए । प्रभासले साहित्यिकतर्फ प्यारोडी, कविता, हास्यव्यङ्ग्य लगायतका कृति रचना गरेका छन् । कार्यक्रममा प्रभासका साथीहरूद्वारा स्वस्ति वाचन गरिनुका साथै उनका हास्यव्यङ्ग्य रचनाहरू, प्यारोडी र गीतहरू स्मरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै हेटौंडा वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले प्रभास घिमिरेलाई ‘उदाउँदो तारा’ को संज्ञा दिँदै उनको निधनले आफूहरूले ठूलो सम्पत्ति गुमाएको महसुस गरेको बताउनुभयो । उहाँले अक्षयकोषमा २ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रभास भौतिकरूपमा नरहे पनि मन मस्तिष्कमा सधैँ रहिरहने बताउनुभयो ।
प्रभासको स्मृतिमा उनका साथी परमानन्द संस्कृति गुरुकुलका सुन्दर कँडेलले कविता वाचन गर्नुभएको थियो । प्रभासका कृतिहरु समेटी तयार पारिएको ‘प्रभास घिमिरेः सम्झना र सृजना’ स्मृति ग्रन्थमा चार खण्ड रहेका छ । पहिलो खण्ड ‘सम्झनामा प्रभास’, दोस्रो खण्ड ‘प्रभासका काव्य सिर्जनाहरू’, तेस्रो खण्ड ‘प्रभासका गद्य रचना तथा प्रस्तुतिहरू’ र चौथो खण्ड ‘विविध’ विषयहरु समावेश गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले प्रभास घिमिरेको निधनले हेटौंडाले एक ठूलो प्रतिभा गुमाएको बताउँदै प्रभास अब आउन नसके पनि उनीजस्ता अन्य प्रतिभाहरूलाई अगाडि बढाउन आग्रह गर्नुभयो । अक्षयकोषमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यो अक्षयकोषले प्रभास घिमिरेको स्मृतिलाई चिरस्थायी बनाउनुका साथै भविष्यमा उदाउँदा साहित्यकारहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
नवसर्जक साहित्य चौतारी नेपाल मकवानपुरका अध्यक्ष कृतिका लौडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका प्रमुख लामा, विशिष्ट अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष सिग्देल, सर्जक सञ्जाल मकवानपुरका संयोजक डा. निमेष निखिलसहित प्रभासका बुबाआमाको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रभासका गुरु तथा परमानन्द संस्कृत गुरुकुल देवघाटधामका अध्यापक गोविन्द गोपाल खतिवडालगायत प्रभासका साथीहरुको पनि उपस्थिति रहेको थियो ।
