हेटौँडा : मकवानपुरमा ३४ हजार भन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ । बिहिबार र शुक्रबार दुइ दिन सञ्चालित कार्यक्रममा जिल्लाका दशवटै पालिकाहरुमा गरी ३४ हजार बालबालिकाहरुलाई भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाइएको हो । जन्मेको ६ महिनादेखि ५ वर्षसम्मका १२ हजार ६ सय बालबालिकाहरुलाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्ष समूहका बालबालिकालाई जुकाको औषधी खुवाइएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य शाखाले जनाएको छ ।
सबै पालिकका गरी ४ सय ७५ वटा खोप केन्द्रमा सोही सँख्यामा स्वास्थ्य स्वयंसेविकाहरु खटिएका जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । दुवै दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यक्रम भएकोमा भिटामिन ‘ए’ र जुकाको औषधी वितरणसँगै खुवाइएको बालबालिकाको पाखुराको नाप लिने, पूर्ण स्तनपान लगायत २ वर्षसम्मका बालबालिकाका आमालाई स्तनपान परामर्श दिने, बालबालिकाको पोषण अवस्था थाहा पाउने एवम् मासिक वृद्धि अनुगमन सम्बन्धी परामर्श सेवा पनि उपलब्ध गराइएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । बालबालिकाको दृष्टि क्षमता वृद्धि तथा रोग प्रतिरोध क्षमता विकासका लागि भिटामिन ‘ए’ अत्यावश्यक भएको निष्कर्षसहित २०५३ सालदेखि प्रत्येक बैशाख र कात्तिकमा गरी दुइ पटक भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरिदै आएको छ ।
