हेटौँडा : धादिङ जिल्लाको थाक्रे गाउँपालिका–७ सातकिल्लास्थित पृथ्वी लोकमार्गमा दुइ वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । सोमबार साँझ ६ बजेर ३० मिनेटको समयमा काठमाडौंबाट महादेववेशीतर्फ जाँदै गरेको बा ७० प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९७ प २८५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा १६५१ नम्बरको मोटरसाइकल चालक धादिङ थाक्रे गाउँपालिका–६ नौकिल्लाका ६० वर्षीय उत्तम अर्यालको काठमाडौंबाट चितवनतर्फ गइरहेको ना ६ ख ३०१३ नम्बरको ट्रककोे टायर मुनि परेर घटनास्थलमै मृत्यु भएको थियो भने २८५२ नम्बर मोटरसाइकल चालक धादिङ गजुरी गाउँपालिका–१ का ३० वर्षीय राजन श्रेष्ठ सामान्य घाइते भएका थियो । राजनको काठमाडौंस्थित ट्रमा सेन्टरमा सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–५ का ३५ वर्षीय धनबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
