हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–८, बिरेफाँटमा रहेको जनजागृति माध्यमिक विद्यालयको प्रधानाध्यापकमा इसु चन्द्र घलान नियुक्त हुनु भएको छ । भदौ ३१ गते घलान प्रधानाध्यापक नियुक्त हुनुभएको हो ।
बकैया गाउँपालिकाकै स्थानीय बासिन्दा घलानले शिक्षण पेशाको सुरुवात जनजागृति माविबाटै गर्नुभएको हो । शिक्षाको सुरुवात जनजागृति माविबाट गर्नुभए पनि उहाँले स्थानीयस्तरकै विद्यालयमा मात्रै पठनपाठन गराउनुभएको थियो । उहाँ १० वर्षदेखि शिक्षण पेशामा आबद्ध रहँदै आउनुभएको छ । उहाँ बकैयाले निर्माण गरेको शिक्षक बैंकको राहत कोटाबाट जनजागृति माविमा पदस्थापित हुनुभएको थियो । घलान जेठदेखि जनजागृति माविमा जानुभएकाघलानले भदौ ३१ गतेदेखि प्रधानाध्यापक नियुक्त हुनुभएको हो । पेम्बा दोर्जे भम्जनले प्रधानाध्यापक जिम्मेवारी छाड्नुभएपछि रिक्त पदमा घलानलाई नियुक्त गरिएको हो ।
घलानले २०६४ सालमा बकैया–३, हातीसुडेस्थित बुद्ध माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो । घलानले कक्षा–१२ हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयबाट उत्तीर्ण गर्नुभएको हो । नवनियुक्त प्रधानाध्यापक घलानले विद्यालयमा शिक्षकको अभाव रहेको जानकारी दिनुभयो । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा मावि र निमावि तह स्थायी दरबन्दीका एकजना पनि शिक्षक छैनन् । प्राथमिक तहमा भने पाँच जना स्थायी शिक्षक छन् ।
विद्यालयमा कक्षाकोठाको पनि अभाव रहेको प्रधानाध्यापक घलान बताउनुहुन्छ । विद्यालयमा निजी स्रोतका दुईजना शिक्षक हुनुहुन्छ । मावि दरबन्दीका शिक्षक नभएकै कारण यस वर्ष एसईईको नतीजामा जनजागृति मावि पालिकामा तेस्रो स्थानमा रहेको उहाँको जीकिर छ । एसईईमा जनजागृति माविबाट ३० जना विद्यार्थीले परीक्षा दिएकोमा नियमिततर्फ ११ जना र पूरक परीक्षाबाट १३ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।
घलानले शैक्षिक गुणस्तर सुधार गर्ने, पारिवारिक वातावरण मिलाउने, जहेन्दार, विपन्न विद्यार्थीलाई उचित मूल्याङ्कन र आवश्यक सहयोग गर्ने र नमुना विद्यालय बनाउने योजना रहेको बताउनुभयो । जनजागृति माविमा दुई सय ३८ जना विद्यार्थी अध्ययनरत छन् ।
