हेटौँडा : चैनपुर जेसीज मनहरीको आयोजनामा मनहरी–४ स्थित गोलघर खेलमैदानमा जारी ‘तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिता’को उपाधि होडमा पटिहानी र मकवानपुरगढी जेसीज पुगेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा गुरुशिष्य पाठशालालाई हराएर पटिहानी इभेन्ट्सले उपाधि नजिक पुगेको हो ।
उपाधिका लागि साविक विजेता मकवानपुरगढी जेसीज र पटिहानी इभेन्ट्स भिड्ने छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा पटिहानीले गुरुशिष्यलाई १–० गोलअन्तरले हराएको हो । निकै प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा सामुयल सुनारले गरेको गोल नै निर्णायक बन्यो । उनले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको हो । म्यान अफ द म्याच समेत सुनार नै घोषित भए । पटिहानी र मकवानपुरगढी जेसीजबीचको फाइनल खेल भोलि शनिबार हुनेछ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा मकवानपुरगढी जेसीजले कमाने फुटबल एकेडेमीलाई सडनडेथमा स्तब्ध पार्दै फाइनलमा स्थान पक्का गरेको थियो । असोज २३ गतेबाट सुरु भएको प्रतियोगितामा मकवानपुर र चितवनका गरी १३ वटा क्लबको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५१ हजार एक सय ५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालले जानकारी दिनुभएको छ ।
