Home Uncategorized सडकको ऊर्जा मतपेटिकातर्फ, जेनजी आन्दोलनले जगाएको नयाँ मतदाता

सडकको ऊर्जा मतपेटिकातर्फ, जेनजी आन्दोलनले जगाएको नयाँ मतदाता

मतदाता नामावलीमा नाम दर्ता गराउन फोटो खिचाउँदै एक जेन जी पुस्ताका युवा ।

हेटौँडा : नेपालको युवा पुस्ता (जेनजी) आन्दोलन पश्चात मतपेटिकामा बदल्न अग्रसर भएको छ । भदौ २३ र २४ गते सडकमा उत्रिएर भ्रष्टाचार र नेतृत्वको अक्षमता विरुद्ध आवाज बुलन्द गरेको जेनजी आन्दोलनपछि युवाहरु आफ्नो उर्जालाई मतदान र मतपेटिकातर्फ अग्रसर गरेका हुन् ।

भदौमा टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत संगठित भएको जेनजी आन्दोलनले काठमाडौँको माइतीघरदेखि देशभरका प्रमुख शहरसम्म हजारौं युवालाई सडकमा उत्रिएका थिए । आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार समेत गठन भयो । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रतिनिधिसभा विघटन भई फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेको छ भने निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम सार्वजनिक गरेर प्रक्रिया समेत अघि बढाइसकेको छ । सोही क्रममा आयोगले निर्वाचनलाई लक्षित गरेर आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ताको कार्यक्रम जारी राखेको छ । उक्त कार्यक्रममा निर्वाचन कार्यालयहरुमा नयाँ मतदाताको उत्साहजनक भीड देखिएको छ ।

उक्त राजनीतिक घटनाक्रमले युवाहरुलाई निर्वाचन प्रक्रियामा सक्रिय रुपमा सहभागी हुन प्रेरित गरेको छ । असोज १० देखि कार्तिक मसान्तसम्म चलिरहेको मतदाता दर्ता अभियानमा युवाहरुको सहभागिताले विगतका निर्वाचनको निराशालाई तोडेको देखिन्छ । राजनीतिक विश्लेषकहरुका अनुसार २०७९ को निर्वाचनमा युवा मतदाताको सहभागिता ६२ प्रतिशत मात्र थियो । जुन अघिल्लो निर्वाचनभन्दा ५ प्रतिशतले कम थियो । तर, भदौको आन्दोलनले उक्त परिस्थिति विपरित रहेको प्रमाणित गरेको देखिन्छ ।

मकवानपुरस्थित प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशमा मतदाता नामावलीमा नाम दर्ताका लागि जेनजी युवाहरुको बाक्लो उपस्थिति रहेको छ । कार्यालयका अनुसार असोज १० देखि २८ गतेसम्म मात्रै ९ सय ५९ नयाँ मतदाता थपिएका छन् । निर्वाचन अधिकृत हरिप्रसाद ढकालले दैनिक ५०० जनाको दर्ता लक्ष्य राखिएको र अनलाइन प्रणालीका कारण सेवा प्रवाह सहज भएको बताउनुभयो । उहाँका अनुसार सेवाग्राही बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म व्यवस्थित रूपमा सेवा लिन आइरहेका छन् ।

‘अनलाइन प्रणालीको प्रयोगले मतदाता दर्ता प्रक्रिया सहज भएको छ । सेवाग्राहीले अहिले सहज महसुस गरिरहेका छन् । हामीले मतदाता दर्ता, नाम सच्याउने र स्थानसारी लगायतका सबै सेवा एकसाथ प्रदान गरिरहेका छौं । अनलाइनबाट आवेदन दिने, आवश्यक कागजात बुझाउन र फोटो खिच्न कार्यालय आउने गरेका छन् । व्यवस्थित ढंगले सेवा सञ्चालन भइरहेको छ ।’ निर्वाचन अधिकृत ढकालले भन्नुभयो । मतदाता नामावलीमा नाम दर्ताको विगतको अवस्था र अहिलेको परिस्थिति फरक रहेको निर्वाचन कार्यालयका एक कर्मचारी बताउँछन् । पहिले राजनीतिक दलहरुले मतदातालाई बसमा बोकेर ल्याउने गरेका थिए भने हाल युवाहरु अफैं आउने गरेको उहाँको भनाई छ ।

‘पहिले दलहरूले बसमा हालेर मतदाता ल्याउँथे, अहिले नागरिक आफैं स्वतःस्फूर्त रुपमा आउँछन्’, निर्वाचन अधिकृत ढकालले भन्नुभयो, ‘अहिले कार्यालयमा उपस्थित हुने अधिकांश युवा छन् । उनीहरु कार्यालय खोज्दै आफैं आएका हुन् । वर्तमान पुस्ता प्राविधिमैत्री भएकाले प्रक्रिया सहज भएको छ र युवाहरुमा उत्साह देखिन्छ ।’ जेनजी आन्दोलनको परिवर्तनको अनुभव दर्ता गराउन आएका युवाहरूको भनाइमा पनि झल्किन्छ । हेटौँडा–६ का १९ वर्षीय विमोचन पहाडीले मतदाता नामावलीमा नाम दर्ता गर्दा देशका लागि केही गर्ने जस्तो महसुस भएको बताउनुभयो । राजनीतिक रुपमा देशमा परिवर्तन भएपनि प्रशासनिक क्षेत्रमा पनि सुधार आवश्यक रहेको पहाडी बताउनुहुन्छ । सडकको आन्दोलनले जगाएको नागरिक चेतना अब मतपेटिकासम्म पुग्नु पर्ने उहाँको भनाई छ । आगामी निर्वाचनबाट नेपाल र नेपाली राजनीतिको भविष्य निर्धारण गर्ने उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराउँदा देशका लागि केही गर्न लागेको महसुस भएको छ । बुबा–आमाको पुस्ताले जे गरे, त्यसको योगदान अलग छ । तर नयाँ पुस्ताले देखाएको आत्मविश्वास र आवेगले भविष्य उज्यालो देखिन्छ । अब हाम्रो आवाज पनि नीति निर्माणमा समेटिनुपर्छ । कर्मचारीतन्त्रमा सुधार र नयाँ पुस्ताको माग समेट्ने नीति आवश्यक रहेको छ । पहिले निसास्सिएको जस्तो वातावरण थियो, अहिले हामीमा आशा छ ।’

अघिल्ला सरकारले गरेका काम र विकास जनअपेक्षाअनुसार अघि बढ्न नसकेको र दिगोपनमा सुधार आवश्यक रहेको विमोचनले औँल्याउनुभयो । पुराना दल आए पनि नयाँ पुस्ताको माग समेटेर नीति परिवर्तन गरे अझ राम्रो हुने उहाँको भनाई छ । त्यस्तै, भिमफेदी–९ की २३ वर्षीया इतिमाया लामा नाम सच्याउन कार्यालय आउनुभएको थियो । जेनजी आन्दोलन पछि देशले राम्रो, इमान्दार र देशप्रेमी व्यक्ति खोजेको र आफूले पनि सोही अनुसारको उम्मेदवारलाई मतदान गर्ने तथा घरमा पनि सम्झाउने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘पहिले राजनीतिबारे खासै बुझेकी थिइनँ । अब हामी राजनीतिको कुरा डराएर होइन, बुझेरै गर्छौं । अब राम्रो, इमान्दार र देशप्रेमी व्यक्तिलाई मतदान गर्छु । पार्टी हेर्ने होइन । व्यक्तिलाई हेरेर मतदान गर्नुपर्छ भनेर घरमा पनि सम्झाउँछु ।’

Exit mobile version