हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, रामनगरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो १२ बजेर ४५ मिनेटको समयमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०१–००१ प १६८४ नम्बरको पर्यटक बोक्ने बसले बिपरित दिशाबाट आउँदै गरेको ग २० प ८५५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा स्कुटर चालक गोरखा जिल्लाको साबिक छोप्राक गाउँपालिका–२, बस्ने ४० वर्षीय दामोदर घिमिरे गम्भिर घाइते भएका थिए । दामोदरलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा दिउँसो १ बजेर २३ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । बस चालक धादिङ जिल्लाको सिद्धालेख गाउँपालिका–३ बस्ने ३६ वर्षीय सन्तोष थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
