हेटौंडा : बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटाले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी संरचनाहरुको पुनस्र्थापनाका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको बताउनुभयो । उहाँले मर्मतसम्भार र पुनर्निर्माणको कामलाई तीन चरणमा विभाजन गरी तीव्रताका साथ अगाडि बढाइएको बताउनुभयो ।
मन्त्री देवकोटाका अनुसार, क्षतिको पुनस्र्थापना र पुनर्निर्माणका लागि एक समिति गठन गरी काम अघि बढाइएको छ । सरकारले पुनस्र्थापना कार्यलाई व्यवस्थित गर्न तीन–चरणीय योजना बनाएको मन्त्री देवकोटाले बताउनुभयो । पहिलो चरणमा मन्त्रालयहरूको काम नरोकिने गरी तत्काल मर्मत र अस्थायी स्थानान्तरण गरिएको र जलेका संरचनामा सामान्य मर्मत गर्ने तथा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
दोस्रो चरणमा इन्जिनियरहरुको प्राविधिक मूल्यांकनका आधारमा मर्मत गरेर बलियो बनाउन सकिने भवनहरुको ठेक्का प्रक्रियामार्फत् पुनस्र्थापना भइरहेको मन्त्री देवकोटाको भनाइ छ । ‘पहिलो चरणमा तत्काल काम सञ्चालन गर्न मिल्ने गरी अस्थायी व्यवस्थापनको काम हामीले एक महिनाभित्रै सकिसक्यौँ । अहिले दोस्रो चरणअन्तर्गत क्षतिग्रस्त भवनहरुलाई पुरानै अवस्थामा फर्काउन टेण्डर आह्वान गरेर काम अघि बढाइएको छ ।’ उहाँले भन्नुभयो, ‘हामीले संरचनाको विस्तृत अध्ययन गरेर कुन पिलर र बीम फेर्नुपर्छ भन्ने यकिन गरेर काम अघि बढाएका छौँ । भौतिकसहित अन्य ३ मन्त्रालय रहेको भवन र सामाजिक विकास मन्त्रालयको भवन पुनस्र्थापनाका लागि टेण्डर प्रक्रिया सकिएको छ । अन्य भवनहरुको पनि टेण्डर भएर काम अघि बढिसकेको छ ।’
तेस्रो चरणमा पूर्णरुपमा ध्वस्त भएका र पुनस्र्थापना गर्न नसकिने संरचनाहरुको नयाँ निर्माण गर्ने तयारी भएको मन्त्री देवकोटाले बताउनुभयो । पूर्णरुपमा जलेका भवनहरुको नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर आधुनिक र कलात्मक भवन बनाउने योजना रहेको उहाँको भनाइ छ । मन्त्री देवकोटाले जलेका सवारी साधनको क्षतिपूर्तिका लागि बीमा कम्पनीहरुसँग समन्वय भइरहेको र आर्थिक स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयसँगको सहकार्यमा सुनिश्चित गरिएको बताउनुभयो ।
