Home मुख्य समाचार जिर्ण बन्दै वनकरिया होमस्टे

जिर्ण बन्दै वनकरिया होमस्टे

जीर्ण बनेको वनकरियाको होमस्टे ।

हेटौँडा : अल्पसंख्यक वनकरिया समुदायको आर्थिक उत्थान गर्ने उद्देश्यले निर्माण गरिएको होमस्टे जीर्ण बनेको छ । मकवानपुरको मनहरी गाउँपालिकामा रहेका अल्पसंख्यक वनकरिया समुदायको आर्थिक उन्नति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको वनकरिया होमस्टे अहिले संकटमा परेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापस्थित वनकरिया बस्तीमा निर्माण गरिएको होमस्टे प्रयोगविहीन भएपछि जिर्ण बनेको हो । साढे तीन वर्षअघि मनहरी गाउँपालिकाको ८ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त होमस्टे संरचना कमजोर बन्दै जाँदा अहिले जीर्ण अवस्थामा पुगेको हो । पर्यटक नआएकै कारण लामो समयदेखि प्रयोगमा नआउँदा संरचना कमजोर बन्दै गएको स्थानीयको भनाइ छ । बाँसले बारिएको संरचना चिराचिरा पर्न थालेपछि होमस्टेमा अहिले बस्न सक्ने अवस्थामा छैन । वनकरिया बस्तीलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बसेको घरलाई स्तरवृद्धि गरी दुई कोठे होमस्टे बनाइएको थियो ।

व्यावसायिक रुपमा सञ्चालन गर्नेगरी उक्त होमस्टे निर्माण गरिएको थियो । तर, पर्यटक नआउँदा प्रयोगविहिन बन्दै गएको होमस्टे अहिले पूर्णरुपमा जिर्ण बनेको वनकरिया समूदायकी अगूवा सन्तोषी वनकरियाले जानकारी दिनुभयो । वनकरिया समुदायको परिकारसहित अन्य रैथाने परिकार उपलब्ध गराउने र वनकरिया समुदायको आयआर्जनमा सघाउने उद्देश्यले निर्माण गरिएको होमस्टे हाल संचालन हुने अवस्था नरहेको उहाँको भनाई छ । अल्पसंख्यक जाति वनकरिय क्षेत्रमा पर्यटकहरुको आवतजावत नै नहुँदा होमस्टे जिर्ण बनेको उहाँले बताउनुभयो । पर्यटकको चहलपहल नहुँदा होमस्टेको संरक्षण र मर्मतमा मात्र समय खर्च गर्नुपर्ने र उत्पादनहीन बन्नु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

‘वनकरिया बस्तीलाई पर्यटकीय गन्तव्य बनाउने सोचका साथ होमस्टे सञ्चालनमा ल्याइएको थियो । तर पर्यटकको अभावमा होमस्टे सोचे अनुरुप सञ्चालनमा ल्याउन सकिएन’, सन्तोषी वनकरिणले भन्नुभयो, ‘पर्यटक नै भएनन् । पर्यटक नभएपछि पैसा भएन र होमस्टेलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सकिएन ।’

तत्कालिन समयमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गर्नुभएको होमस्टे मनहरी गाउँपालिकाले अल्पसंख्यक समुदाय वनकरियाको जीवनस्तर उकास्ने सोचका साथ सञ्चालनमा ल्याएको थियो । होमस्टे सञ्चालनसँगै त्यसको दिगोपन र व्यवस्थापनमा ध्यान दिन नसक्दा वनकरिया समुदायको आशा धरासायी अवस्थामा पुगेको छ । अहिले दिउँसो बस्ती घुम्न आउने पाहुनालाई खाना खुवाउने व्यवस्था भए पनि राती बास बस्न सक्ने अवस्था नरहेको वनकरियाकी अगुवा सन्तोषी बताउनुहुन्छ ।

नेपालमै लोपोन्मुख वनकरिया समुदायको वस्ती हेर्न र उनीहरुको रहनसहन बुझ्नका लागि आउनेलाई बस्नका लागि सहज होस् भन्ने उद्देश्यले होमस्टे निर्माण गरिएको हो । होमस्टेले वनकरिया वस्तीको झल्को दिने गरी निर्माण गरिएको छ । वनकरिया वस्तीमा उत्पादन भएको तरकारी, अन्न, फलफूल, संगैको खोलाको माछा, त्यहीको घट्टमा पिसेको पिठोका परिकार खुवाउने लक्ष्यका साथ होमस्टे निर्माण गरिएको थियो ।

Exit mobile version