हेटौंडा : मकवानपुर उद्योग वाणिज्य संघले दशैंलक्षित सुपथ तथा सस्तो मूल्यको खाद्यान्न बजार सञ्चालन गर्ने भएको छ । संघको आइतबार बसेको बैठकले असोज ७ गतेदेखि ११ गतेसम्म सुपथ तथा सस्तो खाद्यान्न बजार सञ्चालन गर्ने निर्णय गरेको संघले जानकारी दिएको हो ।
संघले वर्तमान विषम परिस्थितिमा उपभोक्तालाई सहज बनाउने उद्देश्यले हेटौंडा–२ स्थित पल्पसा सदनको प्राङ्गणमा १५ वटा स्टलसहितको सस्तो तथा सुपथ मूल्यको खाद्यान्न बजार सञ्चालन गर्न लागेको जनाएको छ । स्टलहरुमा चिनी, नुन, तेल, साबुन, सर्फ, चिउरा, फुरनदाना, दालमोठ, भुजिया, जिरा, धनियाँ, मसला, चियापत्ती, पिठोजस्ता अति आवश्यक सामग्रीहरुको स्टल रहने संघका कार्यकारी निर्देशक सुजन सुवेदीले बताउनुभयो ।
बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने उक्त स्टलहरुमा थोक अर्थात् डिलर मूल्यमै सामग्रीहरु खरिद गर्न सकिने उहाँले जानकारी दिनुभयो । ११ गतेसम्मको कारोबारका आधारमा स्टललाई थप केही दिन सञ्चालन गर्न सकिने आयोजकको भनाइ छ ।
अधिकृत बिक्रेता व्यवसायी संघ मकवानपुरको संयोजकत्वमा सञ्चालन हुन लागेको सो सुपथ मूल्य बजारमा दुग्ध विकास संस्थान तथा साल्ट ट्रेडिङ कर्पोरेसनका सामग्रीहरु पनि बिक्री वितरण गर्न सकिने सुवेदीले स्पष्ट पार्नुभएको छ ।
