
हेटौँडा : मदन भण्डारी फाउन्डेसनको २६औं स्थापना दिवस हेटौँडामा आइतबार विशेष कार्यक्रमका साथ मनाइएको छ । फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा संस्थाको स्थापना दिवस मनाइएको हो ।
२०५६ असोज ५ गते मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा फाउन्डेसनको स्थापना गरिएको थियो । स्थापना दिवसको अवसरमा समसामयिक विषयमा छलफलसहित मदन भण्डारीको योगदानका विषयमा चर्चा गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपानेले दिमागलाई शान्त बनाएर शून्यबाट आत्मसमिक्षा गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले जेनजी आन्दोलनका विषयमा आत्मसमिक्षा गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा एमाले मकवानपुरकी सचिव सीता बिष्टले आत्म परिवर्तन र आत्म सशक्तीकरणलाई आगामी यात्राको प्रमुख आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष खुलालले आत्म–समिक्षा गरेर मात्र समाज र राष्ट्रलाई सबल बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले जेन जी आन्दोलनका क्रममा अकल्पनीय हिंसात्मक घटनाले ठूलो जनधनको क्षति पु¥याउँदै निर्वाचित सरकारको पतन गराएको साथै जेनेरेशन–जेडको शान्तिपूर्ण आन्दोलन एकाएक अराजक बन्दै सरकारी कार्यालय, दलका भवनदेखि सर्वसाधारणको घरसमेत जलाइएपछि राज्यको भूमिका प्रश्नवाचक बनेको बताउनुभयो । उहाँले दलहरूले आत्मालोचना गर्दै संगठन पुनर्गठन, आन्तरिक लोकतन्त्र सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण र नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताउनुभयो ।