१. विद्रोह एक आवधिक प्रक्रिया हो । साना ठूला विद्रोह निरन्तर भइरहन्छन् । साना विद्रोहहरुको खासै गणना गरिँदैन । क्षेत्रीय, जातीय, संस्थागत तथा धार्मिक विद्रोहरुको आआफ्नो प्रकृति बमोजिमका आकार हुनु स्वभाविक मानिन्छ । कतिपय प्रारम्भमा साना भनिएका विद्रोहले राष्ट्रिय आकार लिएको पनि पाईन्छ । बेठीक र बिमति नै विद्र्रोहका कारक तत्व हुन् । कुनै पनि वर्ग, समुदाय, जातजाति, लिंग, भुगोल आदिमा उत्पन्न असन्तोषबाट विद्रोहको जन्म हुने गर्दछ । राज्यमा जब शासकहरुबाट नागरिकमाथि शोषण, दमन, उत्पीडन र अन्याय हुन्छ, तब बिस्तारै जनताको आन्तरिक उकुसमुकुस विद्रोहले आफ्नो आकार बढाउँछ । विश्वका कुनैपनि भूगोलमा भएका आन्दोलन र विद्रोहका पछाडि शासक वर्गबाट गरिएका अत्याचार, भ्रष्टाचार र दुराचार नै प्रमुख कारक भएका तथ्य इतिहास साक्षी छ । नेपाल पनि यसबाट अछुतो छैन ।
जब मुलुकमा नागरिकका बाँच्ने हक अधिकारसहित न्याय, समानता र सदाचार कायम गर्न भ्रष्ट, लुटाहा र अपराधका विरुद्धमा आवाज उठ्छन् तब शासकहरु छट्पटिएर निर्दोष निहत्था नागरिकको हत्या गरिन्छन् । जहाँनीया राणा शासकहरुको एकतन्त्रीय शासनमात्र होइन, बहुदलीयताका नाममा गरिएका उदण्डता र अराजकता पनि नागरिक असन्तोषसँग जोडिएको पाईन्छ । निर्दलीय पञ्चायती शासकहरुको राजतन्त्रसँगै संवैधानिक राजतन्त्र पनि जनताबाट अस्विकार हुनुको कारण चरम बेथिति र भ्रष्टता नै हो भन्न सकिन्छ । बि.सं. २०६२/०६३ को नागरिक आन्दोलनबाट राजतन्त्रको अन्त्य पश्चात देश गणतन्त्रमा प्रवेश गर्यो । संविधान सभाबाट संविधानको निर्माण गरेर दुनियाँमा सकारात्मक सन्देश दिन सफल भएकै हो । बि.सं. २०७२ कै विध्वंसकारी भूकम्पबाट क्षतविक्षत् राष्ट्रको पुनर्निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको बेला अर्को विपत्ति आइपरेको छ ।
२. जेन–जी, सन् १९९७ देखि २०१२ भित्र जन्मिएका अर्थात १३ वर्षदेखि २८ वर्ष उमेरसम्म समूहका युवाहरु मानिएको छ । सामाजिक सञ्जाल खासगरी फेसबुक, इन्स्टाग्राम, युट्युब आदिका कतिपय विकृत र सामाजिक सद्भाव बिथोल्ने प्रकृतिका सामग्रीहरु बाहिर आएको भनी उक्त सामाजिक सञ्जालका सेवा प्रदायक संस्थाहरु सरकारको विधि पालना नगरेका अर्थात दर्ता नभएका र कर नतिरेका भनियो । सरकारी कुरो आम नागरिकसँग सिधा सरोकार रहेन । दशकौं वर्ष पहिलेदेखि संचालित ती संस्थाको दर्ताको प्रसंग यहि बेला उठेकोमा रहस्य हुन सक्छ । म्याद भित्र दर्ता नगरेको भनी सरकारले सामाजिक सञ्जालका फेसबुक, युट्युब, इन्स्टाग्राम लगायतका एप्स बन्द गर्ने निर्णय गर्यो । यो निर्णयको एक साता पनि नबित्दै जेन–जी, सामाजिक सञ्जालको डिस्कार्ड एप प्रयोग गरी एकापसमा संगठित भए । २०८२ भाद्र २३ गते जेन–जी को विरोध प्रदर्शनको प्रसंग र चर्चा बाहिर आएकै हो । यो समूह संगठित र योजनाबद्ध लागेको कुनै आभास थिएन । नेतृत्व पनि स्पष्ट थिएन । माग पनि सामान्य लाग्ने थिए । सरकारमा रहने, दलगत नेतृत्वमा पदासिन रहेका र उच्च पदस्थ कर्मचारीहरुका सन्तानहरुको अति बिलासीपूर्ण जीवनशैली र भ्रष्टाचारको अन्त्यसँगै बन्द गरिएका सामाजिक सञ्जालका एप्सहरु खुला गर्न पर्ने जेन–जी का मागहरु थिए । यी मागहरुमा आम नागरिकको सहमति हुनु स्वभाविक भन्नै पर्दछ । मुलुकमा व्याप्त चरम भ्रष्टाचार र दुराचारले सीमा नाघेकै हो । आम जनता भित्रभित्रै उकुसमुकुस देखिन्थे । कसै न कसैले भ्रष्टाचार विरुद्धको आन्दोलनको नेतृत्व गर्नै पर्दथ्यो । यो अगुवाईमा जेन–जी ले अरुलाई उछिनेकै हो । यो हिम्मत र साहसको सम्मान गर्नै पर्दछ ।
३. जेन–जी पुस्ताले भ्रष्टाचार विरुद्ध छेडेको आन्दोलन अनपेक्षित देखियो । दशौं वर्ष अघिल्ला पुस्ताको आन्दोलन यो २ दिने आन्दोलनका सामु कमजोर र अधुरो नै सावित भयो । २००७ यताका अर्थात ७५ वर्षको अवधिमा भए गरेका सबै आन्दोलनहरु अधुरो र कमजोर सहमतिमा टुंगिएका भन्नै पर्दछ । यद्यपि, प्रत्येक दश वर्षमा विभिन्न कोणबाट विद्रोह उब्जेको पाईन्छ । यो आन्दोलनको पनि परिणाम आउन बाँकी छ । यसपछि अर्को पुस्ताले फेरी आन्दोलन गर्न नपर्ला भन्न सकिन्न । भाद्र २३ गते स्कूल कलेजका विद्यार्थीहरु सडकमा आए । ती विद्यार्थीसँग कुनै हातहतियार थिएन । निहत्था र निर्दोष थिए । सरकारले अत्यन्त कायरतापूर्वक प्रदर्शनकारी विद्यार्थीमाथि अन्धाधुन्ध गोली प्रहार गरी २१ जनाको ज्यान लिएकै हो । सरकारबाट यस प्रकारको हिंसात्मक शैली कसैले कल्पना नै गरेको थिएन । यो नृसंश हत्याको भोलिपटक भाद्र २४ गते आन्दोलनले थप अराजक र हिंसात्मक आकार ग्रहण गर्नुलाई अन्यथा भन्न सकिन्न । आगजनी, हिंसा र तोडफोडमा विद्यार्थीहरुको संलग्नता थिएन ।
जब प्रधानमन्त्रीको राजीनामा बाहिर आयो तब राष्ट्रिय सम्पत्तिहरुको संरक्षणमा सेनासहित सुरक्षाकर्मी चनाखो र सजग बन्नै पर्दथ्यो । सेना र आम सुरक्षाकर्मी मूकदर्शक बनेपछि भीडमा गलत व्यक्तिहरुको घुसपैठ भएको स्पष्ट छ । धमिलो पानीमा माछा मार्नेहरु सक्रिय भए झैं प्रतिशोध लिनेहरु र निकृष्ट क्रियाकलापमा संलग्न अपराधिहरुबाट सिंहदरबार, अदालत, संसद भवन, मन्त्रालयहरु, सरकारी कार्यालयहरुमा आगजनि र तोडफोड भए । महत्वपूर्ण कागजातमा आगो बालियो । राष्ट्रिय सम्पत्ति जलेर खरानी बन्यो । यो काम निन्दनीय भन्नै पर्दछ । संगै कतिपय व्यवसायी र नेतागणका घर जलाउने र लुटपाटको काम भयो । यो धनजनको क्षति अपूरणीय रहेको छ । यहि दिन प्रहरीको बल प्रयोग र आगजनीमा ३ प्रहरी, जेलबाट भाग्ने क्रममा ५ कैदी, सुधारगृहका ५ बालक, व्यापारिक भवनमा जलेरसहित ७४ जनाको ज्यान गएको भनिएको छ ।
४. जेन–जी को आन्दोलन राष्ट्रिय सम्पत्ति आगजनी र तोडफोड गरी सरकार फेर्नका लागि भएको कदापि होइन । मुलुकमा व्याप्त चरम भ्रष्टाचार नै प्रमुख कारक भन्नै पर्दछ । सरकार र दलका नेतृत्व राज्य दोहनमा लिप्त भएकै हो । योग्य, दक्ष, क्षमतावान र सदाचारीहरुले बाँच्नै कठिन स्थिति बनेको देखेर अधिकांश युवा जनशक्तिको बैदेशिक पलायन बढेको भन्दा अत्युक्ति नहोला । पार्टीहरुमा विचार, दर्शन, गन्तव्य होइन, पैसा प्रधान देखियो । यदि आआफ्नो पार्टीको भिन्न पहिचान र विशेषता भएको भए आज यो स्थिति आउने थिएन । राजस्व, कर, मालपोत, अदालत आदि कार्यालयमा सरुवा हुनका लागि कर्मचारीहरु लाखौं करोडौं घूस दिएर जाने संस्कारबाट भ्रष्टाचारको जरा पहिल्याउन सकिन्छ ।
एक शिक्षकले जिल्लान्तर सरुवा प्रकरणमा कम्तिमा तीन लाख रुपैयाँ तिर्नुपर्ने, राजदूत बन्नेले करोडौं बुझाउनु पर्ने, न्यायाधीश बन्नेले त्यस्तै लाखौं करोडौं बुझाउनु पर्ने, संवैधानिक आयोगमा जानेहरु र सरकारले सिधै नियुक्त गर्ने सबै पदहरुमा जानेहरुले पद र क्षेत्र बमोजिमको घूस बुझाउनै पर्ने नियम नै बनाएपछि यो विद्रोह ढिलो वा चाँडो हुनु अनिवार्य थियो । विकास निर्माणका क्षेत्रमा झनै कहालीलाग्ने गरी खुलेर मोलमोलाई गर्ने काम देखियो । संरचनाहरु कमजोर हुनु, वर्षौसम्म पनि योजना सम्पन्न हुन नसक्नु, झोले योजना देखाएर बजेटको अधिक दुरुपयोग गर्नु एकाध उदाहरणका रुपमा लिन सकिन्छ । प्रत्येक क्षेत्रमा विचौलियाहरु अधिक हावी भएका कारणले इमान्दारहरुको आवाज बन्द भएकै हो ।
५. अन्तमा, जेन–जी आन्दोलनमा शहादत हुनेहरु प्रति हार्दिक श्रदाञ्जलीसहित घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस आन्दोलनको विश्लेषण र समीक्षाका लागि यो आलेख प्रस्तुत गरिएको छ । प्रत्येक सिक्काको दुई पाटा भने झैं यो आन्दोलनका क्रममा भएका जनधनको क्षति अत्यन्तै दुखद् र गम्भीर पक्ष हो । दशौं हजार कैदी–बन्दिहरु जेल तोडेर बाहिर आउनुलाई राम्रो भन्न मिल्दैन । यो भयावह र कहालीलाग्दो भाद्र २३ र २४ गतेको २ दिने आन्दोलनको ३ दिन पश्चात अर्थात भाद्र २७ गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्की यो देशको ४२ औं प्रधानमन्त्री बनेपछि सरकारको आकार बनेको छ । यो अन्तरिम सरकारबाट जेन–जी का मागहरु सम्बोधन हुनै पर्दछ ।
राजनीतिक पार्टीहरुले यो आन्दोलनबाट शिक्षा लिनु पर्दछ । गणतन्त्रको रक्षा र सम्मानका लागि पार्टीहरु पुनर्गठित र पुनर्संरचित गरी दलगत मौलिक विचार र दर्शनबाट अगाडि बढ्नु उपयुक्त देखिन्छ । यस आलेखमा जेन–जी आन्दोलनका समग्र पक्षहरुको समिक्षाका लागि संकेत मात्र प्रयत्न गरिएको छ । यहाँका पूर्व सरकारहरु मात्र होइन, दलका उच्च पदस्थ व्यक्तिहरु, विचौलियाहरु, सरकारी गैरसरकारी संस्थासँग जोडिएका सबै व्यक्तिहरु, आम कर्मचारी, व्यवसायी, यी सबैको विगत ७५ वर्षको अवधिका देशमा जरा गाडेर फैलिएको भ्रष्टाचारको अन्त्यका लागि सम्बन्धित भ्रष्ट र दुराचारीप्रति निर्ममताका साथ स्वतन्त्र र अधिकार सम्पन्न आयोग मार्फत यथार्थ छानबिनबाट कठोर सजायँ गरी ती अनियमित सम्पत्ति राष्ट्र निर्माणमा लगानी भए मात्र शहिदहरुको बलिदानीको सच्चा सम्मान हुनेछ ।
