हेटौंडा : हेटौँडामा पनि हैजाका बिरामी फेला परेका छन् । हेटौँडा–१३ का एकै परिवारका दुई पुरुष र हेटौँडा–९ की एक महिलामा हैजाको संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
जनस्वास्थ्य अधिकृत घिमिरेका अनुसार भदौ २८ गते लक्षण देखिएपछि उनीहरु परीक्षणका लागि हेटौँडा अस्पतालमा आएका थिए । परीक्षणपश्चात उनीहरुमा हैजाको पुष्टि भएको हो । संक्रमित दुवै पुरुष उपचारपछि मंगलबार घर फर्किसकेका छन् भने महिलाको अवस्था सामान्य रहेको छ । संक्रमितहरुले प्रयोग गरिरहेको खानेपानीको नमुना संकलन गरी परीक्षणका लागि भरतपुर र काठमाडौं पठाइएको जनस्वास्थ्य अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
स्थानीय समुदायमा सरसफाइ र सुरक्षित खानेपानीको प्रयोगका लागि निरन्तर जनचेतना फैलाइरहेको र खानेपानी उमालेर मात्र प्रयोग गर्न भनिएको जनस्वास्थ्य अधिकृत घिमिरेले बताउनु भएको छ । यसअघि पर्सा जिल्लामा हैजा संक्रमण तीव्र भएको थियो ।
