Home मुख्य समाचार आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै

आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै

हेटौंडा : आज असोज १ गते अर्थात् विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजा गरेर विश्वकर्मा पूजा मनाउँदैछन् ।

आज कलकारखाना रंगीचंगी पार्नुका साथै विशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजाआजा गर्ने गर्दछन् । नियमित सञ्चालन हुने सार्वजनिक सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिबन तथा विभिन्न ध्वजापताका लगाएर रंगीन बनाइन्छ ।

गाडी मर्मत सम्भार गर्ने ग्यारेजलगायत हरेक सानाठूला उद्योगमा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ । पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ ।

यस अवसरमा केहीले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् । पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नजिकैको खोला वा नदीमा लगि विसर्जन गरेपछि विश्वकर्मा पूजा समापन हुन्छ ।

यो पूजा विशेष गरी मधेशी समुदायले धुमधाम र तामझामका साथ मनाउने गर्दछन् । यसै अवसरमा धनुषा, महोत्तरीलगायत तराईका विभिन्न जिल्लामा विश्वकर्मा बाबाको भव्य पूजा गर्ने गरिन्छ ।

फलामको क्षेत्रमा काम गर्ने मजदुरहरुलाई आजका दिन बिदा दिने चलन पनि छ । आजका दिन आफ्नो फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने जनविश्वास छ ।

Exit mobile version