हेटौंडा : जेन–जीको आन्दोलनका क्रममा आगजनीमा परेको मकवानपुरका अदालतहरुले सोमबारबाट कार्यालयको सेवा सुचारु गरेका छन् । जेन–जीको आन्दोलनमा आगजनीमा परेका मकवानपुर जिल्ला अदालत र उच्च अदालत पाटन हेटौंडा इजलासले विशेष सेवाहरु सुचारु गरेका हुन् ।
उच्च अदालत पाटन हेटौंडा इजलासमा आगजनीबाट भवन, सवारी साधनलगायतका भौतिक क्षति भएपनि सबै मिसिल (फाइल)हरु सुरक्षित रहेको अदालतका उपरजिष्ट्रार बद्रीप्रसाद लामिछानेले जानकारी दिनुभयो । अदालतले हाल नियमित सबै सेवा दिन असम्भव भएपनि बन्दी प्रत्यक्षीकरणको रिट दर्ता र सुनुवाइ, म्याद थप र थुनछेक बहस सेवा सुचारु गरेको उहाँले बताउनुभयोे । अदालतमा ८ सय ९४ मुद्दाको लगत रहेकोमा साउनयता ७३ वटा मुद्दा फछ्र्यौट भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै, जिल्ला अदालत मकवानपुरले पनि केही विशेष सेवाहरु सुचारु गरेको छ । आन्दोलनपछि सेवा ठप्प भएको अदालतमा सोमबारबाट थुनुवा म्याद थप, जरुरी पक्राउ पुर्जी, पक्राउ अनुमति, प्रहरीद्वारा पक्राउ भइसकेकाहरुको बयान तथा थुनछेक आदेश भइरहेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार केशवराज कौशिकले जानकारी दिनुभयो । आगजनीमा परेर अदालतका ७ वटा चालु मिसिल र ५ सय ३४ वटा अभिलेख मिसिल जलेर नष्ट भएको कौशिकले जानकारी दिनुभयो ।
मकवानपुर जिल्ला अदालतमा १ हजार ७ सय मुद्दाहरु चालु अवस्थामा रहेका छन् । जिल्ला अदालत हातामा विद्युत् सेवा अवरोध भएकाले सोलार प्लानलबाट काम चलाइरहेको उहाँको भनाइ छ । दशैंपछि मात्र सबै सेवाहरु सुचारु हुन सक्ने श्रेस्तेदार कौशिकले बताउनुभयो । अदालतका कर्मचारीहरुले सुरक्षित अवस्थामा पाइएका मिसिलहरु मिलाउने काम गरिरहेका छन् ।
सर्वोच्च अदालतमा भएको आगजनीबाट अदालतको एकीकृत कार्य प्रणाली नष्ट भएकाले सर्वोच्च अदालतसँगै देशका १८ वटा उच्च अदालत तथा यसका इजलासहरु र ७७ वटै जिल्ला अदालतहरुमा नियमित अदालती न्यायिक सेवा सुचारु गर्न केही समय लाग्ने बताइएको छ । प्रमुख प्रणाली नै नष्ट भएकोले आगजनी नभएका जिल्लाका अदालतहरुमा पनि न्यायिक सेवा रोकिएको बताइएको छ ।
