हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–११, डाँडागाउँमा हाइस गाडी र बिरामी बोकेको एम्बुलेन्स एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एम्बुलेन्समा रहेको बिरामीकोे मृत्यु भएको छ ।
आइतबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा विपि राजमार्गमा काठमाडौँबाट राजविराजतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०८४३ नम्बरको हाईस र विपरित दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ च ०९३१ नम्बरको बिरामी बोकेको एम्बुलेन्स एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एम्बुलेन्समा सवार विरामीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा परी एम्बुलेन्समा सवार विरामी महोत्तरी जिल्लाको लक्ष्मीनिया गाउँपालिका–४ का २१ वर्षीय राजन कुमार साह घाइते भएका थिए । घाइते राजनलाई उपचारका लागि ललितपुरस्थित बी एण्ड बी अस्पताल लगिएको थियो । उपचारको क्रममा आइतबार साँझ ६ बजेर १५ मिनेटको समयमा राजनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारी चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
