Home मुख्य समाचार विद्यार्थीसँग विभेदपूर्ण अभिव्यक्तिपछि नगरप्रमुख मीनाकुमारी लामाको राजीनामा माग

विद्यार्थीसँग विभेदपूर्ण अभिव्यक्तिपछि नगरप्रमुख मीनाकुमारी लामाको राजीनामा माग

नगरप्रमुख लामाको कमजोरी औँल्याउँदै राजीनामा माग गरिएको प्रतिक्रियाहरु ।

हेटौँडा : जेन जी युवाको आन्दोलनको क्रममा विद्यार्थीसँग विभेदपूर्ण अभिव्यक्ति दिनुभएकी हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको राजीनामा माग गरिएको छ । जेन जी आन्दोलनको क्रममा भदौ २३ गते दिउँसो विद्यार्थीसँग हेटौँडा उपमहानगरवासी नभएको भन्दै नगरवासी विद्यार्थीसँग मात्रै कुरा गर्छु भन्ने अभिव्यक्ति दिनुभएकी नगरप्रमुख लामाले आफ्नो अभिव्यक्तिबाट विद्यार्थीहरुको चित्त दुख्न गएको भन्दै आइतबार माफी समेत माग्नुभएको छ ।

जेन जी आन्दोलनको क्रममा हेटौँडा उपमहानगरपालिकाको कार्यालय अगाडि भेला भएका विद्यार्थीमध्ये मधेशका एक विद्यार्थीले कुरा राख्न खोज्दा नगरप्रमुख लामाले ती विद्यार्थीलाई देखाउँदै ‘तिमी हेटौँडा होइनौं, म हेटौँडाको जनतासँग मात्रै कुरा गर्छु । तपाइँ आफ्नो ठाउँमा कुरा गर्नुस् । हेटौँडाका विद्यार्थीप्रति मात्र मेरो जिम्मेवारी हो ।’ नगरप्रमुख लामाले मधेशका विद्यार्थीलाई ‘तिमीले मलाई चिनेको छौ ?’ भन्दै प्रतिप्रश्न समेत गर्नुभएको थियो ।

नगरप्रमुख लामाको अभिव्यक्ति लगत्तै तीव्र आलोचना भएको थियो । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते हेटौँडा उपमहानगरपालिकामा तोडफोड समेत भयो । पटक–पटक गैरजिम्मेवारीपूर्ण तरिकाबाट अभिव्यक्ति दिइरहेको भन्दै नगरवासीले नगरप्रमुख लामाको राजीनामा मागेका छन् । हेटौँडा उपमहानगरपालिकाको फेसबुक पेजमा नगरप्रमुखले माफी माग्नुभएको प्रेस विज्ञप्तिको पोष्टमै नगरवासीले प्रतिक्रिया जनाउँदै नगरप्रमुख लामाको राजीनामा मागेका हुन् । उर्मिला अधिकारीले नगरप्रमुख लामालाई राजीनामा दिएर घरै बस्न सुझाव दिनुभएको छ । ‘राजीनामा दिएर घर बस्नुस् मेयर ज्यु अब, तपाईंलाई पहिला पनि कसैले मन पराएका थिएनन् र अहिले झन कसैले मन पराउने छैनन्’, अधिकारीले प्रतिक्रिया जनाउनुभएको छ ।

विशाल अधिकारीले अभिभावकत्व ग्रहण गरेपछि लाचारीपन नदेखाउन, क्षमता नभए पद नओगट्न उल्लेख गर्नुहुँदै जनताको भावनासँग नखेल्न र नैतिकताका आधारमा राजीनामा दिन आग्रह गर्नुभएको छ । पार्वत जंग गुरुङले व्यक्तिगत अभिव्यक्तिलाई लिएर भएको विवादमा सरकारी पत्र र आधिकारिक पेजको दुरुपयोग भएको टिप्पणी गर्नुभएको छ । सरकारी कागज व्यक्तिगत दुख पोख्ने माध्यम नभएको पनि गुरुङको स्पष्टोक्ति छ ।

रवि कंशाकारले नगरप्रमुख लामाको अभिव्यक्ति रंग–आधारित भेदभावलाई प्रोत्साहन गर्ने खालको भएको उल्लेख गर्नुभएको छ । उहाँले नगरप्रमुखको अभिव्यक्ति निकै दुःखद् भएको, हेटौँडाजस्तो सहिष्णु र विविधतापूर्ण शहरलाई यस्तो सोचका नेतृत्वको खाँचो नभएको दावी गर्नुहुँदै आफ्नो गल्ती स्वीकार गरेर पदबाट राजीनामा दिन आग्रह गर्नुभएको छ । नगरप्रमुखको राजीनामाले समाजमा सकारात्मक सन्देश दिने कंशाकारको सुझाव छ ।

शरोन घिमिरे थापाले नगरको अभिभावक भएपछि आफ्नो मतदाता को हो भन्दै हेर्दै कुरा गर्नु उचित नभएको र नगरप्रमुखको अभिव्यक्त नितान्त जातीयताको आधारमा विभेद भएको प्रतिक्रिया जनाउनुभएको छ । मनिष आत्रेय दूलालले गल्ती पटक–पटक भएपछि विज्ञप्तिमा अडिन नहुने प्रतिक्रिया जनाउनुभएको छ । यस्तो कमजोर स्थानीय सरकार भएपछि स्थानीय सरोकार कसरी समाधान हुन्छ ? भनी प्रश्न गर्नुभएका दूलालले बेलैमा मार्ग प्रशस्त गरिदिँदा राम्रो हुने, राजीनामा दिँदा उचित हुने उल्लेख गर्नुभएको छ । यसअघि पनि नगरप्रमुख लामाले हिमालय टेलिभिजनका पत्रकारलाई पत्रुकार भन्दै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिनुभएको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएको नगरप्रमुखको माफी उल्लेखित विज्ञप्तिमा प्रस्तुत भएका अधिकांश प्रतिक्रियामा नगरप्रमुखको कमजोरी औँल्याइएको छ भने कतिपय अभिव्यक्ति अश्लिल समेत छन् ।

Exit mobile version