हेटौँडा : मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–१ मा २ महिनाकी सुत्केरी बलात्कार गरेको अभियोगमा मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ–१ कै एक युवकलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको हो । पीडित २३ वर्षीया महिलाको वयानअनुसार शुक्रबार राती बलात्कार भएको हो । राक्सिराङ गाउँपालिका–१ कै ४१ वर्षीय अन्तरे थिङले सुत्केरीका श्रीमानलाई खाबोमा बाँधेर सुत्केरी महिलालाई बलात्कार गरेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार एकान्तमा घर भएकी ती पीडित सुत्केरी महिलाका श्रीमानलाई गोठको खाबोमा बाँधेर सुत्केरीलाई बलात्कार गरिएको हो । घटनापछि पीडितका श्रीमानले प्रहरी चौकी राक्सिराङमा जाहेरी दिन पुगे पनि प्रहरी तत्काल घटनास्थलमा जान नमानेको अध्यक्ष मल्लले बताउनुभयो ।
‘पीडितका श्रीमानले घटनाको जाहेरी दिँदा पनि प्रहरी घटनास्थलमा जान नमानेको खबर प्राप्त भयो’, गाउँपालिका अध्यक्ष मल्लले भन्नुभयो, ‘अस्ति भएको घटनाले त्रसित भएर प्रहरी घटनास्थल जान नमानेको रहेछ । यद्यपि, हाल घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढिसकेको छ ।’ पीडित महिलालाई हेटौँडास्थित हिंसा पीडित महिलाहरुलाई राख्ने सुुरक्षित आवासमा राखिएको छ ।
