आजको समयमा मान्छेको किनबेचको कुरा आश्चर्यको विषय बन्नु पर्ने हो । तर, नेपालको सन्दर्भमा मान्छेको किनबेच सामान्य जस्तो लाग्छ । हिजो यौनशोषणका लागि नेपाली चेली विदेशमा बेचबिखनमा पर्ने गरेका थिए भने आज नेपाली चेली मात्रै नभई युवा, बालबालिका, वयस्क, सबै पेशा र व्यवसायका क्षेत्रका मान्छे निरन्तर किनबेच भइरहेको छ । फरक यत्ति हो कि किनबेचमा परेका व्यक्ति शोषणमा छ या सुविधामा छ । मूलतः यौनशोषण, मानवअंग प्रत्यारोपण, श्रमशोषणका लागि हुने किनबेच चुनौतिपूर्ण छ भने त्यसबाहेक मुलुकका लागि योगदान गर्नुपर्ने दक्ष जनशक्तिको अन्तर्राष्ट्रिय पलायन पनि कम चुनौतिको विषय होइन ।
मानव बेचबिखन विरुद्धको १९औं राष्ट्रिय दिवसको सन्दर्भमा शुक्रबार हेटौँडामा भएको कार्यक्रममा सहभागीले पछिल्लो समय मानव बेचबिखनको स्वरुप र क्षेत्र नै बदलिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । केही वर्षयता यौनशोषणका लागि भारतीय भूमिमा विक्री हुने नेपाली चेली आज आफ्नै भूमिमा पनि उत्तिकै बिक्री भइरहेका छन् । डान्सबार, डिस्को, मसाज, स्पा जस्ता क्षेत्रमा पनि महिलामाथि यौन शोषणका घटना तीव्र छ । तर, स्थानीय प्रशासन, प्रहरीले आवश्यक नियमन र कारवाही गर्न सकेको देखिँदैन । चिन्ताको विषय यस्ता गलत अभ्यासमा स्थानीय प्रशासन, प्रहरीको मिलेमतोको समेत आरोप लाग्ने गर्नु दुखद् विषय हो ।
नेपाली युवा श्रम, रोजगारीका लागि खाडी मुलुक, जापान, कोरिया मात्रै नभएर संसारभर छरिएका छन् । जति छरिएका छन् उनीहरुले सुख भन्दा दुख नै बढी पाएका छन् । मुलुकमै भविष्य सुनिश्चित नदेखेपछि आम युवा कसरी विदेश पुग्ने भन्ने सोचाइमा रहन्छन् । जुनसुकै हालतमा विदेश जाने नेपाली युवाको मनस्थितिले मुलुकको विकासमा बाधा पुगिरहेको छ भने युवाको भविष्य पनि थप अनिश्चित बन्दै गएको छ । अझ पछिल्लो समय हेर्ने हो भने दक्ष जनशक्तिकोरुपमा डाक्टर, इन्जिनियर, शिक्षक, प्राध्यापक, उद्यमी, व्यवसायी समेत मुलुक छाड्ने मनस्थितिमा रहेका र उल्लेख्य संख्यामा विदेशिएको स्थितिले समग्रमा मुलुकले ठूलो घाटा व्यहोर्ने अवस्था छ । तर, सरकार यसलाई देखेर नदेखे जस्तै गरिरहेको छ ।
मानिसको किनबेचको गलत प्रवृत्तिमा सुधार गर्न नेपालमै रोजगारीको सुनिश्चितता गर्ने, विदेश जाने युवालाई ज्ञान, सीप र दक्षतासहित पठाउने, विदेशमा नेपालीले सिकेका सीप, ज्ञान र दक्षतालाई मुलुकले सदुपयोग गर्ने अवस्था सिर्जना गर्न सरकारले आवश्यक तयारी गर्नु जरुरी छ । मानव बेचबिखन विरुद्धको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसको समयमा मात्रै चासो र चर्चा व्यक्त गर्ने प्रवृत्ति विपरित सरोकारवालाले निरन्तर, हरेक दिन र समयमा मानिसको गलत नियतमा हुने किनबेचलाई रोक्न, अन्त्य गर्न गम्भीर भएर ध्यान दिन जरुरी छ ।
