हेटौँडा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरले पत्रकारसँग अन्तरक्रिया गरेको छ । संघीय सरकारले पारित गर्न लागेको संघीय शिक्षा ऐन निजी विद्यालयको हित विपरित ल्याउन लागिएको भन्दै आन्दोलनरत प्याव्सनले बिहीबार पत्रकारसँग अन्तरक्रिया गरेको हो । विद्यालय शिक्षा ऐनमा समावेश भएका केही व्यवस्थाप्रति विमति जनाउँदै निजी विद्यालयका सञ्चालक आन्दोलित छन् ।
आन्दोलनकै कार्यक्रमअन्तर्गत आयोजित अन्तरक्रियामा प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले विभिन्न पाँच बुँदे माग र मागका सम्बन्धमा जानकारी गराउनुभएको थियो । विधेयकमा उल्लेख भएको पूर्ण छात्रवृत्तिसम्बन्धी प्रावधान र निजी विद्यालयलाई गैर नाफामूलक बनाउने प्रावधान पूर्ण रुपमा हटाउनु पर्ने प्याव्सनको माग छ । विद्यालयहरुमा उत्पादन नहुने पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, खाजा लगायतका सेवा सुविधासम्बन्धी व्यवस्था हटाउनु पर्ने साथै छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनु पर्ने प्याव्सनको जीकिर छ ।
छात्रवृत्ति सम्बन्धी ऐन २०२१ को दफा ३ (क), नियमावली २०६० को नियम १० (क) तथा २०७७ को ऐनद्वारा संशोधित ११ वटा विश्वविद्यालयमा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई मात्र सिटीईभिटी र उच्च शिक्षाको अवसर दिने विभेदकारी व्यवस्था तत्काल खारेज गर्न पनि माग रहेको अध्यक्ष सुवेदीले जानकारी दिनु भयो । अन्तरक्रियामा नेपालको शिक्षा प्रणालीको समग्र विकासमा निजी क्षेत्रले निरन्तर योगदान गर्दै आएका प्रमुख सल्लाहार दहालको भनाइ छ । देशभरीका ३४ प्रतिशत विद्यार्थी निजी विद्यालयमा अध्ययनरत रहेकोमा बोर्ड परीक्षामा पास हुने विद्यार्थीहरु मध्ये ९० प्रतिशत निजी विद्यालयको विद्यार्थी रहेका दहालले बताउनु भयो । हाल मकवानपुरमा निजी विद्यालयमा अध्ययनरत ३५ हजार विद्यार्थीमध्ये १० प्रतिशतले छात्रवृत्ति पाएको दहालले बताउनु भयो ।
अन्तरक्रियामा पत्रकारहरुले सरकारलाई शिक्षकले बुझाउन नसकेको वा सरकारको कुरा निजी विद्यालय सञ्चालकले नबुझेर विद्यार्थीको नियमित पठनपाठन प्रभावित हुने जोखिमको विषयमा निजी विद्यालयले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । सरकारलाई नबुझ्ने विद्यालय सञ्चालक वा सरकारलाई बुझाउन नसक्ने विद्यालय सञ्चालक भन्ने जस्तो विरोधाभाषपूर्ण अवस्था बिडम्बनाको विषय हुन सक्नेमा पनि सञ्चारकर्मीले सचेत गराएका थिए ।
शिक्षा विधेयकमा निजी विद्यालयको हितविपरीत रहेको केही प्रावधान विरुद्ध एनएमए, अपेन, हिसान, नेशनल प्याब्सन लगायतका संगठनहरुले भदौ २७ गतेदेखि संयुक्त रुपमा आन्दोलन सुरु गरेको छ । आगामी दिनमा आन्दोलनलाई अझ सशक्त, संयमित र अनुशासित ढंगले अघि बढाई सकारात्मक निचोडमा पुर्याउन समग्र नेतृत्व प्रतिबद्ध रहेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सह–कोषाध्यक्ष ग्रेस श्रेष्ठ, प्रमुख सल्लाहकार मदन कुमार दहाल, नेपाल पत्रकार संघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, वरिष्ठ पत्रकार प्रताप विष्ट लगायतको उपस्थिति रहेको थियो ।
