हेटौँडा : आत्महत्या प्रयास गरेका मकवानपुरका ३ जनाको बुधबार एकैदिन मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकामा २ जना र राक्सिराङ गाउँपालिकाका १ जनाको मृत्यु भएको हो ।
भीमफेदी–१ आँपखोल्सीका ४३ वर्षीय नरनाथ घिमिरेले बुधबार दिउँसो साढे ३ बजेको समयमा नजिकैको बाँदर कुर्ने छाप्रामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् । उनको घटनास्थलमा नै मृत्यु भएको आफन्तको भनाइ छ । यस्तै भीमफेदी गाउँपालिका–१, किसेडीका १८ वर्षीय अमृत थिङले आत्महत्या प्रयास गरेका थिए । मंगलबार दिउँसो १ बजे घरमै आत्महत्या प्रयास गरेका थिङलाई उद्दार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । अमृतको उपचारको क्रममा बुधबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
यस्तै मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–१, गडवानका ५१ वर्षीय महेश मुक्तानले पनि बुधबार बिहान ९ बजेको समयमा आत्महत्याको प्रयास गरेको बुझिएको छ । मानसिक सन्तुलन गुमेका मुक्तानले बुधबार बिहान ९ बजेको समयमा घर नजिकैको खोल्सीमा आत्महत्या प्रयास गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको परिवारजनको भनाइ छ ।
