हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई हेटौँडा–७, नागस्वतीबाट पक्राउ गरेको छ । आइतबार दिउँसो साढे ११ बजेको समयमा ४ ग्राम ९६० मिलिग्राम लागूऔषध खैरोहेरोइन र १० क्याप्सुल लागूऔषध ट्रामाडोलसहित हेटौँडा–७, मिलनचोकबाट हेटौँडा–५ का ३२ वर्षीय समीर महतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले समीरलाई हिरासतमै राखेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै प्रहरीले २१२ किलो ८६० ग्राम लागूऔषध गाँजा बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ । सोमबार बिहान १ बजेर ५० मिनेटको समयमा हेटौँडा–३, च्यानडाँडा नजिकै जंगलको बाटो हुँदै लागूऔषध गाँजा ल्याउँदै छ भन्ने सूचनाका आधारमा प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । लागूऔषध बोकेर आउँदै गरेका ७÷८ जना मानिसको समूह प्रहरी देख्नासाथ लागूऔषध छाडेर भागेको प्रहरीले जनाएको छ ।
