हेटौंडा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको संघीय शिक्षा ऐनमा निजी विद्यालयको हित विपरीत भएको प्रावधानप्र्रति ध्यानाकर्षण गराउँदै बिहीबार ज्ञापनपत्र बुझाएको प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले बताउनु भयो ।
प्याब्सनले विभिन्न चार बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । विधेयकममा उल्लेख भएको पूर्ण छात्रवृत्ति प्रावधान पूर्णरुपमा हटाउनु पर्ने र सोही दफाको स्पष्टिकरणमा पूर्ण छात्रवृत्ति भन्नाले वार्षिक शुल्क, पोशाक, यातायात, स्टेशनरी र आवास समेतको प्रावधानलाई संशोधन गरी मासिक शुल्क, भर्ना शुल्क र परीक्षा शुल्कमात्र उल्लेख गर्नुपर्ने माग छ । यसैगरी हाल कायम रहेको विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था नै कायम राख्ने र निजी विद्यालयहरुलाई गैरनाफामूलक बनाउँदै लैजाने प्रावधान हटाउनु पर्ने प्याब्सनको माग छ ।
सम्बन्धित पालिकाबाट एकीकृत छात्रवृत्ति वितरण गर्न राखिएको प्रावधानसमेत संशोधन गर्ने मागसहित ज्ञापनपत्र बुझाएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । आफूहरुको माग नेपाल सरकारले पूरा नगरेमा निजी क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरी थप आन्दोलनमा होमिने अध्यक्ष सुवेदीको भनाइ छ ।
