Home मुख्य समाचार संस्थागत विद्यालयमा २० वर्ष (आत्मानुभूति)

संस्थागत विद्यालयमा २० वर्ष (आत्मानुभूति)

विषयप्रवेश :
निम्न मध्यम वर्गको परिवारमा गाउँमा जन्मेँ, हुर्केँ । पुख्यौली पेसा खेती–किसानी । पढ्ने–लेख्ने रहर । लेख–पढका लागि गाउँ छाड्नुपर्ने बाध्यता । सरहर बजारको बसाइ । व्यापार गर्नका लागि सोच र स्रोत दुवैको अभाव । आफू र आफ्नो परिवारका लागि जागिर रोज्नैपर्ने बाध्यता । बाल्यकालदेखि नै शिक्षक बन्ने मेरो सपना । कारण उतिबेलादेखि अहिलेसम्म पनि मलाई सबैभन्दा आदर्श लाग्ने मान्छे र पेसा, शिक्षक । सायद त्यति बेला गाउँमा रहँदै गर्दा शिक्षकबाहेक कोही अरु खास सरकारी जागिरे नदेखेकाले पनि हुन सक्छ । जागिरेको नाममा आफूले देखेको भनेका कि त लाहुरे (सेना) थिए, कि त खाडी मुलुकका कामदार । अलिअलि घरअगाडिका कार्यालयहरूमा सरकारी कर्मचारी पनि नदेखेको होइन । तर पनि किन–किन सरकारी कर्मचारीप्रतिको मेरो बाल्यकालीन दृष्टिकोण त्यति सकारात्मक थिएन । त्यसै कारण सरकारी जागिरप्रति मेरो खास आकर्षण रहेन । हुन त त्यतिबेलादेखि आजका दिनसम्म ‘क्षमता भएर पनि तैँले सरकारी जागिर खाइनस् है’ भन्ने हितैषीहरू नभएका होइनन् । सरकारी जागिरतर्फ रुचि नभएपछि म यस्तो जागिरमा जोडिन चाहन्थेँ कि जहाँ आफू सदैव जाँगरिलो भइराखियोस् र आफ्नो मिहिनेतको फल पनि प्राप्त होस् । सायद सधैँ जाँगरिलो भइराख्न र मिहिनेतको फल प्राप्त गरिराख्न अनि शिक्षणलाई जीवनको अभिन्न अङ्ग बनाइराख्नका लागि संस्थागत विद्यालय मेरो रोजाइको क्षेत्र बन्यो ।

पहिलो विद्यालयसँगका केही प्रसङ्ग :
शिक्षणका क्रममा सर्वप्रथम खुला प्रतिस्पर्धाबाट हेटौँडाको तत्कालीन अवस्थाको एउटा सानै संस्थागत विद्यालयमा २०६२ वैशाखदेखि भदौ पहिलो सातासम्म चार महिना काम गरेँ । तलब थियो, मासिक २ हजार रुपैयाँ । अन्य केही सुविधा थिएन । हुन त विद्यालय पनि भर्खरै खुलेको थियो । विद्यार्थी पनि खासै थिएनन् । आफ्नो पनि सिकारु र सङ्घर्षशील अवस्था । छोटो समयमै आफ्नो कर्मका कारण विद्यार्थी र अभिभावकमाझ राम्रो छवि र छाप छाड्न सफल भए पनि अर्को विद्यालयमा राम्रो अवसर आएको र प्रतिस्पर्धाबाट नाम पनि निस्केकाले बिचमै जागिर छाड्न बाध्य भएँ । यसैकारण सञ्चालकबाट धोकेवाजको उपाधि पाइयो । त्यही तलब पनि जागिर छाड्ने क्रममा सञ्चालक रिसाएर १,८०० का दरले तलब बुझ्न बाध्य पनि भइयो । बिचमै विद्यालय छाडेको झोँकमा सञ्चालकज्यू खुब रिसाउनुभयो । बहसका क्रममा मेरो शैक्षणिक भविष्य अन्धकारमय बनाइदिने धम्कीसमेत आयो र मैले नाम निकालेको अर्को विद्यालयका प्रिन्सिपललाई समेत फलानो मान्छे धोकेवाज छ, सकेसम्म नराख्नू भनेर फोनसमेत गरिएछ । जे जस्तो भए पनि उक्त विद्यालय मेरो शिक्षण जीवनको आरम्भविन्दुका रूपमा सदैव स्मरणीय छ । अहिले त त्यो विद्यालयले पनि निकै प्रगति गरेको छ । पेसागत समस्या त्यति धेरै हामीसम्म नआएकाले सायद शिक्षक–कर्मचारीको सन्तुष्टिको स्तर पनि राम्रै होला भन्न सकिन्छ ।

दोस्रो विद्यालयमा लगातार २० वर्ष : केही उल्लेख्य प्रसङ्ग
मेरो शिक्षण जीवनको दोस्रो र हालसम्म निरन्तर कार्यरत विद्यालय हो, ज्ञानदीप शिक्षा (जी.एस.) निकेतन माध्यमिक विद्यालय । ३२ जना प्रतिस्पर्धीमध्ये लिखित, कक्षा अवलोकन र अन्तरवार्तामा सफल भएर प्रावि नेपाली शिक्षकको २०६२ भदौ ९ गते नाम निकाल्न सफल भएँ । पछि निमावि हुँदै मावि शिक्षक तथा विद्यालय प्रशासनको समेत अनुभव बटुल्ने मौका पाएँ । यसकारण पनि यस विद्यालयमा रहँदा–बस्दा बिचबिचमा आएका अन्य राम्रै अवसर पनि आफ्ना लागि फिक्का लागे र यसै विद्यालयमा रमाएर आजसम्म रमाउँदै कार्यरत छु । यहाँ रहँदै गर्दा मैले यसका केही महत्वपूर्ण पक्षहरू देखेँ, जसलाई यहाँ प्रस्तुत गर्दैछु :

१. लोकतान्त्रिक वातावरण :
प्रायः संस्थागत विद्यालयमा विद्यालय सञ्चालक र प्रधानाध्यापकहरुले शिक्षक कर्मचारीलाई गर्ने व्यवहार त्यति राम्रो पाइँदैन । अझ भनौँ, व्यवहार प्रायः निरङ्कुश खालको हुन्छ । तर जीएस निकेतन यस्तो विद्यालय हो, जहाँ शिक्षक–कर्मचारीले कुनै पनि सञ्चालक वा प्रिन्सिपललाई रिझाइरहनु पर्र्दैन, केवल आफ्नो कामले विद्यार्थी र अभिभावकलाई रिझाए पुग्छ । कारण यहाँ व्यक्ति सञ्चालक नभएर संस्था सञ्चालक छ । ‘शिक्षामा सहकारिता : ज्ञानदीपको संलग्नता’ भन्ने मूल नाराका साथ ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित यस विद्यालयमा शिक्षक–कर्मचारी तथा अभिभाभावक आफै नै सहकारीको सेयर सदस्य छन् । पछिल्लो समयमा सहकारी संस्थाले विद्यालय सञ्चालन गर्न नपाउने नेपालको कानुनी प्रावधान रहेकाले बाध्य भएर विद्यालय कम्पनीमा जानु परे पनि हालसम्म लोकतान्त्रिक वातावरणमा खासै आँच आएको छैन ।

२. शोषणविरुद्धको आन्दोलनको रूपमा विद्यालय
२०५६/२०५७ तिर हेटौँडाका तत्कालीन संस्थागत विद्यालयहरूले अभिभावकसँग महँगो शुल्क लिने, विद्यार्थीलाई गुणस्तरीय शिक्षाको नाममा व्यापार गर्ने र शिक्षक–कर्मचारीलाई चरम श्रमशोषण गर्ने परिपाटी रहेको देखेर शिक्षासेवी यादवप्रसाद शर्माको अग्रसरतामा आफ्ना बालबालिका आफ्नै विद्यालयमा भन्ने अभियानका साथ सबै अभिभावकलाई सहकारीमार्फत् सेयर दिने, अभिभावककै नेतृत्वमा विद्यालय सञ्चालन गर्ने, कम शुल्क लिएर अभिभावकलाई न्याय गर्ने, लोकसेवा आयोगको मोडलबाट निष्पक्ष परीक्षा लिई योग्य शिक्षक छनोट गरी गुणस्तरीय शिक्षा दिएर विद्यार्थीको हित गर्ने र नेपाल सरकारले तोकेबमोजिम तलब, भत्ता, सञ्चयकोष, उपदानलगायतका सेवासुविधा दिएर शिक्षक–कर्मचारीको समेत श्रमशोषण हुन नदिने पवित्र उद्देश्यका सञ्चालन गरेकाले यो विद्यालय आफैमा एक आन्दोलन हो भन्नुमा कुनै दुईमत छैन । देशभरका संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक कर्मचारीले सुख्खा तलबबाहेक सेवानिवृत्त हुँदै गर्दा यस विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीले राज्यको नियम, कानुनसरह सञ्चयकोष र उपदान प्राप्त गरेका उदाहरणले पनि यो कुराको पुष्टि गर्छ भने हाल सामाजिक सुरक्षाकोषको माध्यमबाट ६० वर्षपछि पेन्सन, ६० अघि नो टेन्सनको बाटोमा अघि बढेको छ, जुन अत्यन्त सुखद कुरो हो ।

३. नेतृत्व र व्यक्तित्व विकासको अवसर :
विद्यालयले सम्पूर्ण शिक्षक–कर्मचारीलाई नेतृत्व र व्यक्तित्व विकासको अवसर दिएको छ । अन्य विद्यालयका शिक्षक–कर्मचारीले पेसागत आन्दोलनमा लाग्नका लागि दश पटक सोच्नुपर्ने र लागेको पाइएमा जागिरबाट निकालिनुपर्ने अवस्था रहेकामा यस विद्यालयमा कार्यरत आम शिक्षक–कर्मचारीले जिल्लाकै पेसागत आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका छन् र उक्त कार्यमा कुनै बाधा, अवरोध छैन । साथै शिक्षक–कर्मचारीलाई शैक्षिक अवलोकन भ्रमण, तालिम, गोष्ठी, सेमिनार आदिमा जानका लागि प्रोत्साहन गर्ने वातावरण छ, जसले शिक्षक कर्मचारीमा नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान गरेको छ । म आफै पनि यसै विद्यालयको प्रतिनिधित्व गरे जिल्लाव्यापी शिक्षक–कर्मचारी आन्दोलनको नेतृत्व गर्दै आमरण अनसनसम्मको कार्यक्रम गर्न साथै संस्थागत विद्यालय शिक्षक युनियनको मकवानपुर जिल्ला हुँदै राष्ट्रिय समितिको नेतृत्व तहसम्म पुग्न सफल भएको छु । साथै यहीँ कार्यरत साथीहरू केन्द्र, प्रदेश, जिल्ला तथा नगरको पेसागत आन्दोलनको कुशल नेतृत्व गरिरहेका छन् । यस किसिमको कार्यमा यहाँ कसैको दुरुत्साहन रहँदैन । यो आफैंमा एक सुखद् पक्ष हो ।

शिक्षक–कर्मचारीलाई यो खालको सेवा, सुविधाको निरन्तरता गराउन तथा नयाँ–नयाँ प्रावधानअनुसारको सेवा, सुविधाको व्यवस्था गर्न तथा विद्यालयलाई स्थापनाकालदेखि हालसम्म सबै हिसाबले नमुना बनाईराख्नका लागि यहाँ कार्यरत सबै साथीहरूसँग हातेमालो गर्दै शिक्षक–कर्मचारीको तर्फबाट मैले पनि नेतृत्वदायी भूमिका खेलेको छु । यस क्रममा कहिलेकाहीँ बहस, छलफलका क्रममा रातो मुख लाउनुपर्ने अवस्था त यहाँ पनि नआएको होइन । सञ्चालक समितिमा संस्थाको प्रकृति र स्थापनाको मर्म नबुझ्ने र अन्य विद्यालयमा झैँ म मालिक हुँ, तिमीहरू काारिन्दा हौ भन्ने सोचले ग्रसित नेतृत्व आउँदा शिक्षक प्रतिनिधिका रूपमा शिक्षक कर्मचारी, विद्यार्थी र अभिभावककका समस्या उठान गर्दै गर्दा कहिलेकाहीँ राम्रै बहस गर्नुपर्ने अवस्था पनि आएका छन् ।

यद्यपि हालसम्म यो संस्था आम शिक्षक–कर्मचारीको रोजाइको विद्यालय बनेको छ । म र म जस्ता धेरै साथीहरू पनि सन्तुष्टिका आधारहरू काम, दाम, नाम र इनामका कारण पनि यसको विकल्प सोचिहाल्ने अवस्थामा छैनौँ । यसकारण पनि यो एउटा नेपालकै नमुना विद्यालय हो र यसको एक सदस्य म पनि हुँ भन्दा गर्वको अनुभूति हुन्छ र सबै संस्थागत विद्यालय ज्ञानदीप जस्तै प्रकृतिको भइदिने हो र राज्यले सहकारिताको मोडलमा सम्पूर्ण संस्थागत विद्यालयलाई रूपान्तरण गर्ने खाका ल्याउने हो भने आम शिक्षक कर्मचारी, विद्यार्थी र अभिभावकको साझा विद्यालय बन्ने थियो र विद्यालयमा कोही मालिक र कोही कारिन्दा भएर रहनुपर्ने थिएन र वास्तवमा संस्थागत विद्यालयको क्षेत्रमा पेसागत आन्दोलनको आवश्यकता पर्ने थिएन भन्ने मनमा सधैँ लागिरहन्छ ।

(लेखक ज्ञानदीप शिक्षा निकेतन मावि सहायक प्रधानाध्यापक तथा संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) राष्ट्रिय समितिका उपाध्यक्षसमेत हुनुहुन्छ ।)

Exit mobile version